२१ बैशाख २०७४, बिहीबार

काठमाडौं । नेकपा(एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति अगाडि सार्न सरकार र निर्वाचन आयोग सकारात्मक रहेको जिकिर गरेका छन् ।

स्थानीय निर्वाचनका सन्दर्भमा सो दलले आज आयोजना गरेको प्रेस भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री र आफ्ना पार्टीका अध्यक्षको भेटघाटमा आगामी जेठ ३१ का लागि तोकिएको दोस्रो चरणको निर्वाचन बजेट प्रस्तुति अगावै गर्न एमालेले गरेको प्रस्तावमा सरकार सकारात्मक भएको बताए । एमाले नेतृत्वले आजै सो विषयमा आयोगको ध्यानाकर्षण गराएको थियो ।

पहिलो चरणको मतगणना तत्काल सुरु गर्ने वा एक महिनासम्म कुराउने विषयमा अन्योल देखिएको, जेठ १५ मा बजेट प्रस्तुत हुनुपर्ने संविधानमा व्यवस्था भएको र जेठ ३१ मा मुसलमान समुदायको रमजान पर्ने भएकाले सो मितिमा निर्वाचन गराउनु सान्दर्भिक नहुने नेम्वाङको तर्क थियो ।

LIVE TV