
काठमाडौं । यस वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सातौँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित ‘पुरस्कार वितरण’ समारोहमा जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गरे ।
विसं २००० मा ओखलढुङ्गामा जन्मिनुभएका रायन (नारायण श्रेष्ठ)का ‘टुकी’ (कथा), ‘जितेन्द्र’ (कथा), ‘वेदना’ (गीति सङ्ग्रह) र ‘कहाली’ (गीति नाटक) लगायतका कृति प्रकाशित छन् । विसं २००५ मा काभ्रेमा जन्मिनुभएका राधेश्याम प्रदानले विभिन्न विद्यालय, विश्वविद्यालय र क्लवमा नृत्य प्रशिक्षण दिदैं आएका छन् ।
त्यसैगरी २००६ सालमा दाङमा जन्मिनुभएकी गायिका चन्द्रकला शाहका ‘छ भने मायाँ छपकै लाइदेऊ’, ‘खर काटी खरौली’ र ‘मोहनी लगायौँ कि’ लगायतका दर्जनौं चर्चित गीत बजारमा उपलब्ध छन् । विसं २०११ मा धनकुटामा जन्मिएका नाटककार अशेष मल्लले ‘शकुनी पासाहरू’, ‘रक्तबीज’ र ‘अनादिक्रम’ लगायतका नाटक प्रकाशन गरेका छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको गौरवलाई अझ माथि उठाउन साहित्य, सङ्गीत र कलालाई राष्ट्र प्रेमको भावनाले ओतप्रोत तुल्याउनु आवश्यक रहेको बताए ।
उनले भने, “नेपालमा संविधान जारी भई देश सङ्घीय संरचना अगाडि बढिसकेको परिपेक्षमा प्रज्ञा– प्रतिष्ठानले पहिलोपटक प्रादेशिक आधारमा सङ्गीत, नृत्य र नाट्यसम्बन्धी अनुसन्धान परियोजना सञ्चालन गर्नु आफैँमा सकारात्मक पक्ष हो ।”
“प्रज्ञा–प्रतिष्ठानको गरिमा, विकास र सुदृढीकरण गरी हाम्रा गौरवशाली सिर्जनाको संरक्षण तथा सम्वद्र्धन गर्नका लागि भौतिक पूर्वाधार अपरिहार्य भएकाले यसमा सम्बन्धित पक्षले समयमै यथोचित ध्यान दिनेछ भन्ने अपेक्षा गर्दछु”– राष्ट्रपति भण्डारीले भने।
प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरूभक्त) ले समग्र सांस्कृतिक पक्षको विकास, प्रवद्र्धन एवम् नेपालको विविधतामा एकतायुक्त मौलिक सांस्कृतिक योजना निर्माणका लागि सांस्कृतिक नीतिको आवश्यकता रहेको बताए ।