२१ बैशाख २०७४, बिहीबार

एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा यही वैशाख २२ देखि २४ गतेसम्म नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। महोत्सवमा नेपाली पानोरामा अन्तर्गत नेपाल र नेपाली परिवेशमा बनाइएका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छन्। अन्तर्राष्ट्रिय पानोरामा अन्तर्गत भने विभिन्न उत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रहरु देखाइने छन्। दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’बाट उद्घाटन हुने महोत्सवको समापन मिन भाम निर्देशित ुकालो पोथीुबाट गरिने छ। महोत्वसमा विभिन्न समयका उत्कृष्ट नेपाली चलचत्रिहरु पनि देखाइने छन्।

जसमा नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ र छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ लुकिङ ब्याक नेपाल सेक्सन अन्तर्गत देखाइन लागेको महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले बताए। नेपाली पानोरामामा राजन कठैतको ‘शेरडाक’, सुवर्ण थापाको ‘सुनगाभा’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, अम्बिका जोशीको ‘टासिज टरबाइन’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ र किरण मरहट्टाको ‘जर्नी टु वार्सा’ पनि प्रदर्शन हुनेछन्। अन्तर्राट्रिय सिनेमा अन्तर्गत सुसन ग्लोथको उर्मिला, एण्डी कोकरुमको ‘शेर्पा स्टु’, जशवन्तदेव श्रेष्ठको ‘मुस्ताङ’, डोरिया ब्रामान्टे र मार्कस वेनफरदरको ‘द रेफ्युजी अफ साङ्ग्रिला’ प्रदर्शन हुने भएको छ।

त्यस्तै छोटा चलचित्र अन्तर्गत विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, सुसन प्रजापतिको ‘लाज’, सन स्मलको ‘एकर्स अफ डायमण्ड’, राजेन्द्र ठकुराठीको ‘माई क्ल्याइरे’ प्रदर्शन पनि गरिने बराइलीले बताए। ग्लोब पिस फिल्म फेस्टिबलको सहयोगमा ‘द डिर्पोटेसन अफ इनोसेन्स’ र ‘एक सूर्य के तले’ प्रदर्शन गरिनेछ।

अमेरिकामा रहेका नेपाली समुदाय तथा विभिन्न चलचित्रसँग सम्बन्धित संघ संस्थाको सहयोगमा हुन लागेको चलचित्र महोत्सवमा नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक नवीन सुब्बा जुरी प्रमुखका रुपमा सहभागी हुनेछन् भने अन्य जुरी सदस्यमा ग्लोबल पिस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फ्रेड बोजोर्गमेहर रहनु हुनेछ। महोत्सवका क्रममा नेपाली सिनेमा र अमेरिकी नेपाली डायस्फोरा विषयक अन्तर्कृया कार्यक्रम पनि आयोजना गरिने महोत्वस निर्देशक बराइलीले बताए।

महोत्सवमा मीनबहादुर भाम, दीपक रौनियार, नवीन सुब्बालगायत निर्देशकहरु समेत सहभागी हुने छन्। महोत्वसको नेपाल संयोजन मानव अधिकार चलचित्र केन्द्रले गरेको छ।

LIVE TV