
संविधान संशोधनको विषयमा छलफल गर्न आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । मधेश केन्द्रित दलहरुसँग भएको तीन बुँदे सहमति अनुरुप संसद सचिवालयमा दर्ता भएको संशोधनको विधेयकमाथि आज छलफल हुने भएको हो ।
वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक काँग्रेसका पूर्व प्रतिनिधि सभा सदस्य नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो । यस अघि सभामुखले दिनुभएको ७२ घण्टे समयसीमामा सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव परेका थिए । उक्त विधेयकमाथि भोलि छलफल हुँदैछ । त्यसैगरि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावका विषयलाई संसदमा टेबुल गर्ने तयारी दलहरुको रहेको छ । यद्यपी प्रतिपक्ष दल नेकपा एमालेको भने संविधान संशोधन र प्रधानन्यायाधीश कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा भने अझै विमती रहँदै आएको छ ।