
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरे पनि संघीय समाजबादी फोरम भने पहिलो चरणको निर्बाचनमा सहभागी हुने भएको छ । फोरम अध्यक्ष उपेन्द्र यादबले पहिलो चरणको चुनावपछि संविधान संशोधन नभए दोस्रो चरणको निर्वाचन हुन नसक्ने चेतावनी समेत दिएका छन् ।
तीन दिन अघि मात्र संघीय लोकतान्त्रिक मधेसी मोर्चाले माग पूरा नहुँदासम्म कुनै पनि निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो । तर मधेसी मोर्चा आबद्द संघीय समाजबादी फोरमले भने पहिलो चरणको निर्वाचनमा पनि सहभागिता जनाउने निर्णय गरेको छ । यसक्रममा फोरमले काठमाडौं उपत्यकासहितका अधिकांश जिल्लामा उम्मेदवारी दिएको छ ।
मधेसी मोर्चामा आवद्ध ६ दलको नवगठित राष्ट्रिय जनता पार्टी नेपालले भने पहिलो चरणको निर्वाचनमा सहभागी बनेन । तर, संविधान संशोधन नभएको भन्दै प्रतिक्रियात्मक कदम पनि चालेको छैन । सरकारसँग पहिलो चरणको चुनावपछि र दोस्रो चरणको अघि संविधान संशोधन प्रस्ताव पारित गराउने सहमति भएकाले पनि आफूहरु निर्वाचनमा सहभागी नभएको राजपाको भनाई छ । तर निर्वाचन प्रति मधेस केन्द्रित दलहरु पनि उदार रहेको भने प्रष्ट भएको छ ।