२० बैशाख २०७४, बुधबार
  • प्रदीप राज दाहाल,

काठमाडौं । रञ्जु दर्शना र किशोर थापाहरु चर्चामा छन अहिले ? काठमाडौं महानगरपालिकाको मेयर पदका प्रत्याशी यी दुई व्यक्ति न काँग्रेस, न एमाले, नत माओवादी केन्द्रका नै हुन् । तर यिनीहरुले बटुलेको चर्चा प्रमुख दलका उम्मेद्वारहरुको भन्दा कुनै पनि हालतमा कम छैन् ।

के काठमाडौंका मतदाताहरुले यसपटक स्वाद फेर्ने मनसाय देखाएका हुन या यो सामाजिक सञ्जालको प्रयोगको हौवा मात्र हो । हुनत नानीमैया दाहालदेखि गोच्छे सार्कीसम्म रोजेको काठमाडौंवासीको मनस्थिति जहिलेपनि सत्ता र शक्तिको विरोधीकोरुपमा चित्रित हुँदै आएको छ । त्यही अवस्था दोहोरिन लागेको हो त काठमार्डौंमा ?

मुलुकमा भएको सकारात्मक पक्षको जयजयकार गर्दै र नकारात्मक पक्षहरुविरुद्ध सडक डोजर चलाउँदै आएको नयाँ दल हो विवेकशिल पार्टी । विवेकशीलले विवेक पु¥याएर धेरै कार्यहरु गर्दै आएको छ काठमाडौंमा । जस्ले एकाध बर्षदेखि यो दलप्रति आम मानिसमा चासो बढ्दो छ । २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उस्ले दलभित्रकी उदियमान किशोरीलाई काठमाडौं महानगरपालिकाको मेयरको प्रत्यासी बनाएको छ ।

२१ बर्षीया रञ्जु दर्शनाको उम्मेद्वारीको घोषणा हुने वित्तिकै सञ्चार माध्यम र सामाजिक सञ्जालमा उनी चर्चाको पात्र बनिन । भाषण गर्ने कलात्मक शैली , आकर्षक मुहार र कुनै पनि मुद्दामा मज्जाले वहस गर्ने क्षमताका कारण उनको चर्चा चुलिँदो छ । के यही आधारमा विवकेशिलको लागि असम्भव देखिएको काठमाडौंको मेयर पद उनले हत्याउन सक्लिन त ? जे भए पनि चर्चा भने बटुलेकै छिन् उनले ।

यता शहरी विकासका कुशल योजनाकार , पूर्व सचिव एवं २०३१ सालको प्रवेशिका परीक्षा एसएलसीका बोर्डफस्ट किशोर थापा साझा पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको प्रत्याशी बनेका छन् । उनको पनि चर्चा कम छैन काठमाडौंमा अहिले । काठमाडौंको विकासका लागि वास्तवमा यस्तो मान्छे चाहिने हो भन्ने चर्चाले पनि झपक्कै छोपेको छ । काठमाडौंको विकासका लागि धेरै योजना छन् उनको मस्तिष्कमा ।

दलको हैसियत नपाएका यी दुबैले स्वतन्त्ररुपमा उम्मेद्वारी पेश गरेका छन् । यिनीहरु चर्चामा मात्र सीमित हुने हुन या त्यो भन्दा ठूलो फड्को मार्लान ,त्यो त काठमाडौंवासी मतदाताले नै टुंग्याउने छन् । मेनु जति नै पल्टाएपनि मोमो नै रोज्ने नेपाली मतदाताको प्रवृति लागू भए यिनीहरु चर्चा भन्दा माथि उठन नसक्ने पनि पक्का छ ।

 

LIVE TV