२० बैशाख २०७४, बुधबार

पाँचथर । पाँचथरमा बाख्रा पालन व्यवसाय राम्रो आम्दानीको श्रोेत बनिरहेको छ । थोरै लगानीबाट सुरु गरेको बाख्रापालन व्यव्सायबाट पनि अहिले जिल्लामा धेरैले राम्रो आम्दानी गर्न सफल भएका छन् ।

पैसा कमाउने सपना बोकेर बिदेश जानुभन्दा आफ्नै गाँउघरमा बाख्रा पालन व्यवसाय गरे राम्रो आम्दानी गर्न सकिदो रहेछ भन्ने उदाहरण पाँचथरका किसानले दिएका छन् । यसै व्यवसायबाट कृषकहरुले मासिक एकलाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
७ बर्ष विदेश बसेर फर्केका ३२ वर्षीय केशब नेम्बाङ पनि बाख्रापालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् । चारबर्ष अघिबाट शुरु गरेको उनको बाख्रा फर्ममा अहिले पचास वटा बाख्रा छन् । राम्रोसंग बाख्रा पालन व्यवसाय गरिरहेको देखेर जिल्ला पशु सेवा कार्यालयले २ लाख रुपैंया अनुदान दिएपछि यसबाट आफू थप उत्साहित भएको नेम्बाङको भनाई छ ।

पाँचथरमा रहेको उन्नत जातको पाठापाठी धनकुटा, खोटाङ, ताप्लेजुङ र झापा जिल्लासम्म निर्यात हुदै आएको छ । किसानलाई नियमित स्वास्थ्य, खोर सुधार, नस्ल सुधारकालागि बोका र नगद अनुदान दिने गरेको जिल्ला पशु सेवा कार्यालयको भनाई छ । बाख्रापालन व्यवसाय गर्नेको संख्यामा क्रमशः बृद्धि हुनथालेको छ ।

बजार माग र मूल्य समेत राम्रो भएकोले जिल्लामा वाख्रापालन व्यवसाय प्रति किसानको आकषर्ण बढेको हो ।

LIVE TV