२० बैशाख २०७४, बुधबार

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीलाई संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको विषयलाई लिएर नागरिक समुहले न्यायालय माथि भएको हस्तक्षेप प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले न्यायिक पुनरावलोकनको माध्यमबाट हेरिने बिषय सर्वोच्च अदालतको क्षेत्राधिकारको भएकोले त्यस्ता बिषयमा महाअभियोग लगाउनु लोकतान्त्रिक व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिकाको बिरुद्धको कार्य भएको भन्दै सम्वद्ध पक्षलाई स्वतन्त्र न्यायपालिकाको सम्मान गर्न आग्रह गरेका छन् ।

बुधबार राजधानीमा आयोजित महाअभियोग विरुद्धको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायपालिकालाई आफ्नो स्वविवेकले काम गर्न नदिई गरिएको हस्तक्षेप गैरन्यायिक भएको बताए । उनले सत्ताको आडमा आज्ञाकारी न्यायपालिका चलाउने अधिकार कसैलाई नभएको पनि स्पष्ट पारे ।

कार्यक्रममा नेपाल बार एसोसियनकी बरिष्ठ उपाध्यक्ष उषा मल्ल पाठकले महाअभियोग स्वतन्त्र न्यायपलिकामाथिको ठाडो हस्तक्षेप भएकोले उक्त प्रस्ताव तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरे ।
त्यस्तै वरिष्ठ अधिबक्ता विश्वकान्त मैनालीले महाअभियोग गैरसंवैधानिक भएको ठहर गर्दै न्यायालयमाथिको हमला विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
महाअभियोग विरुद्ध उभिएको नागरिक समुहले महाअभियोग तत्काल फिर्ता नभए चर्को विद्रोहमा उत्रिने चेतावनी दिएका थिए ।

 

LIVE TV