२० बैशाख २०७४, बुधबार

काठमाडौं । ‘सायद २’ फिल्मको निर्माण पक्षले मे १४ तारिखमा जापानको राजधानी टोकियोमा ग्य्राण्ड प्रिमियर शोको आयोजना गरेको छ । टोकियोस्थित नाकाको जिरो हलमा ‘सायद २’को बिशेष प्रदर्शनी गरिने भएको हो । अहिले फिल्मको निर्माता सुनिल रावलले दिएका जानकारी अनुसार जापानमा आयोजना हुँदै गरेको सो प्रिमियर शोको सम्पुर्ण तयारी सकिसकेको छ ।


असार ३० गते बाट सम्पुर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको सो फिल्मको निर्माता सुनिल रावल, प्रस्तोता दुर्गिश थापा, अभिनेता सुशील श्रेष्ठ लगाएत मे १० तारिखमा जापान जाने कुरा तय भएको निर्माण पक्षले जानकारी गराएका छन् । जापानमा रहेका नेपाली दर्शकहरुको अत्याधिक माग भएको हुनाले नेपालको प्रदर्शनी अगावै जापानमा बिषेश प्रदर्शनी गर्न लागिएको अर्का निर्माता इश्वोर श्रेष्ठले जानकारी गराए भने जापानमा हुँदै गरेको सो बिषेश प्रदर्शनीले उपस्थित सबै दर्शकहरुको मन जित्ने बिश्वास ब्यक्त पनि गरेका छन् ।

जापानमा हुँदै गरेको ‘सायद २’को सो विशेष शो बाट संकलित रकम मध्येको केही अंश जापानमा रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति स्वरुप सहयोग प्रदान गरिने पनि निर्माता श्रेष्ठले जानकारी दिए ।

‘सायद २’ फिल्मलाई दुर्गिश फिल्मस्को ब्यानर सुनिल रावल र ईश्वोर श्रेष्ठले निर्माण गरेका हुन् । त्यस्तै, फिल्मलाई पुष्पराज टि न्यौपानेले निर्देशन गरेका हुन्, फिल्मको कथा भने निर्माता रावलको रहेको छ । फिल्ममा सुशिल श्रेष्ठ, अमृत ढुंगाना, श्यारोन श्रेष्ठ, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर लगायत लीड रोलमा रहेका छन् ।

त्यस्तै, जानकारी अनुसार सायद फिल्मको सिक्वेलको रुपमा निर्माण गरिएको ‘सायद २’ले अहिलेको युवापुस्ताको ताजा कथाबस्तु बोल्नेछ । फिल्मले युवा पुस्ताको समस्या र समाधानको साथमा समाजलाई सकारात्मक सन्देश दिने पनि बताईएको छ । अहिले ‘सायद २’को निर्माण पक्षले प्रचार प्रसारलाई तीव्र बनाईरहेको छ ।

LIVE TV