
चितवन । स्थानीय तहको निर्वाचनमा सुरक्षालाई मजबुद बनाउन चितवनमा जिल्ला सुरक्षा समितिले बिभिन्न सात महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सदरमुकाम भरतपुरको मुख्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
भरतपुर महानगरपालिकाको पूर्वमा वाईपासरोड, पश्चिममा त्रिचोक, उत्तरमा रमाईलोचोक र दक्षिणमा केन्द्रीय बस टर्मिनलसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । ती क्षेत्रमा सुरक्षा निकायसहित सम्पूर्ण सरकारी कार्यालय रहेका छन् ।
त्यस्तै, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिकाको मुख्य क्षेत्र र जिल्लाको एकमात्रै गाउँपालिका ईच्छाकामनाको मुख्य क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
चितवनमा ३ हजार २ सय १५ नेपाल प्रहरी र १२ सय २५ म्यादी प्रहरी परिचालन गर्ने तयारी गरिएको छ । त्यस्तै, चितवनमा रहेका १६१ केन्द्रमध्ये ४९ वटा अति सम्वेदनशिल, ५९ सम्वेदनशील र बाँकी ५३ सामान्य रहेको जिल्ला प्रहरी कार्यालयको ठहर छ ।
सम्वेदनशील क्षेत्रको सुरक्षाका लागी नेपाली सेनाको हेलिकप्टर समेत तयारी अवस्थामा राखिने र आवस्यक परे १० मिनेट भित्रैमा नेपाली सेनाको फोर्स सम्बन्धित स्थानमा पुग्ने गरि तयारी गरिएको छ ।
जिल्लामा सबै दलसंग सहकार्यकै आधारमा शान्ति सुरक्षा लगायत अन्य सबै तयारी पूरा गरिएको छ ।
चितवनमा भयरहित ढंगले निर्वाचन गर्न आवश्यक तयारी गरिएको प्रहरीले जनाएको छ ।