१९ बैशाख २०७४, मंगलवार

 

काठमाडौं । आगामी बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनका लागि देशका ३४ जिल्लामा विभिन्न राजनीतिक दलहरुले मंगलबार मनोनयन दर्ता गरेका छन् । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयर उपमेयर तथा गाँउपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी दिएका छन् ।


चितवनको भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट दिनेश कोईराला, नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

उपप्रमुख पदमा नेपाली कांग्रेसका तर्फबाट पार्वती शाह, नेकपा एमालेका तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङ उम्मेदवारी दर्ता गरेका हुन् । कोईरालाको समर्थकमा उद्धव लोहनी र प्रस्तावकमा उत्तम जोशी रहेका छन् । ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी रहेका छन् ।

त्यस्तै, तनहूँमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले लगायतका उम्मेदवारी दिएका छन् । सबै राजनीतिक दलले बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका छन् ।

तनहूँका २ नगरपालिका र ४ गाउँपालिकामा एमाले र माओवादी केन्द्रले समीकरण गरी उम्मेदवारी दर्ता गराएका छन् । व्यासनगरपालिका, भानु नगरपालिका एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर सहमती गरेका छन् म्याग्दे गाउँपालिका र ऋषिङ्ग गाउँपालिकामा एमालेले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष लिएका छन् ।

त्यसैगरि, पोखरा लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेसले प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङको उम्मेदवारी दर्ता गरेको छ । नेकपा (एमाले)ले प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मन्जु गुरुङको उम्मेदवारी दर्ता गरेको छ ।

नेकपा (माओवादी केन्द्र)ले प्रमुखमा विश्वप्रकाश लामिछाने र उपप्रमुखमा गोमा ढकाललाई उम्मेदवार बनाएको छ । देशभर नै उल्लासमय वातावरणमा उम्मेद्वारहरुको मनोनयना दर्ता भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

 

LIVE TV