१८ बैशाख २०७४, सोमबार

ललितपुर, वैशाख । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले न्यायालयको स्वतन्त्रता र निष्पक्षतामा प्रश्न उठेकाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनुपरेको बताउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

“हामीले चाहेको स्वतन्त्र र निष्पक्ष न्यायपालिका नै हो,” उहाँले भन्नुभयो– “यसैका लागि पार्टीका नेता गणले महाअभियोगको निर्णय गर्नुभएको हो ।”

पत्रकार सम्मेलनमा केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक एवम् केन्द्रीय सदस्य रमेश लेखकले स्थानीय निर्वाचनका सम्बन्धमा पार्टीको तयारीका बारेमा प्रकाश पार्नुभयो ।

संसद्मा हिजो दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोगको प्रस्तावका बारेमा पत्रकारबाट सोधिएको प्रश्नको जवाफमा उहाँले नेपाली काँग्रेसले स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल न्यायपालिकाको पक्षमा रहेको र रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रीय सदस्य लेखकले नेपाली काँग्रेसले लोकतन्त्रका आधारभूत तत्वमा विश्वास गर्ने बताउँदै “स्वतन्त्रता, निष्पक्षता, मर्यादामा आधारित सबल न्यायापालिकाप्रतिको हाम्रो विश्वास अटल छ र हामी शक्ति पृथकीकरणको सिद्धान्तमा पनि उत्तिकै अडिक छौँ भन्नुभयो ।”

हाल संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव न्यायापालिकाविरुद्ध लक्षित नभएर न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल हुन नदिने एक न्यायाधीशविरुद्ध मात्र लक्षित भएको बताउँदै उहाँले शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप निर्माण भएको हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको क्षेत्र र सीमा स्पष्ट किटान गरेको धारणा व्यक्त गर्नुभयो ।
“यि तीन निकायमध्ये कसैले पनि कसैको अधिकार मिच्न हुँदैन भन्नेमा नेपाली काँग्रेस स्पष्ट छ” केन्द्रीय सदस्य लेखकले भन्नुभयो– “नेपालको संविधानको उल्लङ्घन, पदीय कर्तव्यको पालना नभएको, निर्वाचन आचारसंहिताकोसमेत पालनामा असर पारेको, कार्य क्षमताको अभाव आदिका कारणले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याउन परेको हो ।”

केन्द्रीय सदस्य लेखकले “लोकतन्त्रको आधार नै न्यायापालिकामाथिको नागरिकको विश्वास हो तर प्रधानन्यायाधीश कार्कीको कामकारबाहीले गुटबन्दी बढाउने, न्यायालयप्रतिको आस्था घटाउने अवस्था सिर्जना गरेकाले अदालतलाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र सबल बनाएर जनआस्था अभिवृद्धि गर्न महाअभियोग ल्याउनु परेको हो,” भन्दै न्यायमूर्तिले सत्यतथ्य, कानुनी आधारलाई छोडेर आवेग, प्रतिशोध र लहडका भरमा न्याय सम्पादन गर्न नहुने प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाअभियोग प्रस्ताव संसद्मा विचाराधीन भएकाले संसद्बाटै टुङ्गो लगाइने बताउनुभयो ।

कार्यक्रममा पार्टीका नेता पूर्णबहादुर खड्का र दीपक गिरीको सहभागिता थियो । रासस

LIVE TV