१८ बैशाख २०७४, सोमबार

एजेन्सी । गर्मी सुरु भएसँगै छालामा विभिन्न समस्या देखा पर्छन्। घामका कारण छालामा चाया, पोतो, एलर्जी, खटिरा, डन्डिफोर जस्ता समस्या देखा पर्छन्। गर्मीको मौसममा छालामा देखा पर्ने समस्यालाई धेरैले सामान्य रुपमा लिने गरेका हुन्छन्। यस्ता समस्यालाई लापरबाही गर्दा स्वास्थ्य समस्या निम्तिन पनि सक्छ। घर्मीको समयमा छालामा देखापर्ने केही स्वास्थ्य समस्या यस प्रकार छन्।

. रातो दाग

अत्याधिक गर्मी र चर्को घामका कारण छालामा चिलाउने राता दागहरु देखा पर्छन्। यस्ता राता दागहरु लामो समय घाममा बस्दा वा घाममा बसेर काम गर्दा देखा पर्छन्। केहीकेहीको छालामा पानीका फोका पनि देखा पर्छन्। घामले डढेर केही फोका चिलाउने दागमा परिणत हुन्छन्।

. छाला सुक्खा

गर्मीको समयमा छाला सुक्खा हुनेगर्छ। गर्मीमा पसिना धेरै बग्ने हुँदा शरीरमा पानीको मात्रा कम हुन गई छालामा सुक्खापन आउँछ। छाला सुक्खा हुँदा निकै चिलाउने गर्छ।

. घामबाट छाला डढ्ने समस्या

चर्को घाम लागेका बेला बाहिर निस्कँदा छाला डढ्न सक्छ। प्रायःजसो घाममा काम गर्ने व्यक्तिको छाला डढ्ने गर्छ। घामले डढेको छालामा चिलाउने, सुख्खा हुने र फुस्रो हुने समस्या आउँछ। कपडाले नछोप्ने शरीरका भागमा ९गर्धन, हात आदि० छाला डढेको प्रस्ट देखिन्छ।

. डन्डिफोर

गर्मीले गर्दा पसिना अत्याधिक आउँछ। पसिना धेरै बग्दा यसले धुलोधुँवा तान्ने चुम्बकको काम पनि गर्छ। पसिना निस्कने छालाका प्वालमा फोहोर जम्मा हुँदा त्यहाँ डन्डिफोर आउन सक्ने सम्भावना हुन्छ। यो समस्या किशोर-किशोरी तथा युवा उमेरका मानिसलाई बढी देखिन्छ।

. ब्याक्टेरियल इन्फेक्सन

गर्मीको मौसममा छालामा एक किसिमको ब्याक्टेरियाबाट हुने संक्रमणलाई ब्याक्टेरियल इन्फेक्सन भनिन्छ। छालामा घाउ हुने, खटिरा आउने, खटिरामा पिप जम्ने जस्ता समस्या ब्याक्टेरियाले गर्दा हुन्छ। यस्ता समस्या स्टेप्टोकोकस र स्टेफाइलोकोकस नामक ब्याक्टेरियाको संक्रमणबाट हुने गर्छ।

. फंगल इन्फेक्सन

‘फंगल इन्फेक्सन’लाई ढुसी परेको भन्ने गरिन्छ। यस्तो समस्या काखी, जाँग, महिलाको स्तनमुनि बढी देखिने गर्छ। जहाँ पसिना बढी जम्मा हुन्छ त्यस्ता ठाउँमा फंगल इन्फेक्सन हुने गर्छ। यस्तोमा छाला बढी चिलाउने र ढुसीले गर्दा घाउ हुने आदि समस्या देखिन्छ।

. भाइरल इन्फेक्सन

भाइरल एक किसिमको भाइरसबाट हुने समस्या हो। यस्तो समस्या हुँदा छालामा मसिना फोकाहरु आउँछन्। यस्तै, छाला पोल्ने, छालामा छुदा दुख्ने जस्ता समस्या भाइरल इन्फेक्सनले गर्दा हुन सक्छ।

. घामबाट छाला जोगाउने उपाय

गर्मीमा छालामा हुन सक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। गर्मीमा पसिना धेरै बग्ने र वायुमण्लमा धुँवाधुलो फैलिने भएकाले सकेसम्म दिनै नुहाउनुपर्छ। पसिना धेरै बग्ने हुँदा डिहाइड्रेसन हुन सक्छ। जसले छालामा सुक्खापन हुन्छ र चिलाउँछ। गर्मीमा जतिसक्दो धेरै पानी पिउनुपर्छ। गर्मीमा छाला जोगाउने उपाय यस्ता छन्।

१. घाममा निस्कँदा सन्सक्रिन क्रिम वा सनब्लकको प्रयोग गर्ने। पौडी खेल्दा दुई(दुई घन्टाको फरकमा सन्सक्रिन क्रिमको प्रयोग गर्ने। सन्सक्रिन क्रिमको प्रयोग गर्दा छालरोग विशेषज्ञको परामर्श लिएर मात्र गर्नु राम्रो,

२. घर बाहिर निस्कँदा छाताको प्रयोग गर्ने,

३. अनुहार छोपिने टोपी वा मास्कको प्रयोग गर्ने,

४. पूरै शरीर ढाक्ने गरी कपडा लगाउने,

५. प्रसस्त पानी पिउँने,

६. घामको एलर्जी भएमा चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्ने,

७. सकेसम्म दैनिक दुई पटक नभए कम्तिमा एक पटक नुहाउने र सफा कपडा लगाउने।

LIVE TV