
नुवाकोट । चारघरेका लक्ष्मण भट्ट हराएको १८ वर्षपछि घर फर्किनुभएको छ ।
विसं २०५६ देखि परिवारसँग सम्पर्कविहीन भएका विदुर नगरपालिका–१२ साविकको चारघरे–४ का भट्ट विवाह गरी श्रीमती र एक छोरी लिएर १८ वर्षपछि घर फर्किनुभएको हो ।
लामो समयपछि घर फर्किनुभएका भट्टले मेघालय (भारत)मा रहेको कोइला खानीमा काम गर्दा पत्र पठाउन नपाएको र मोबाइलसमेत बोक्ने चलन नहुँदा सम्पर्क गर्न नसकेको बताए । सशस्त्र द्वन्द्वका समयमा घरबाट हराएका ३८ वर्षीय भट्टलाई परिवारले जीवित पाउने आश गुमाइसकेको समयमा नौ वर्षकी छोरी र भारतीय मूलकी श्रीमती लिएर घर फर्केको उनका दाजु रामलाल भट्टले जानकारी दिए ।
“मुलुकमा सशस्त्र द्वन्द्व भइरहेको समयमा घरमा बस्ने वातावरण नै थिएन”– लक्ष्मणसँगै जुम्ल्याहा दाजु रामलालले भने, “सुरक्षाकर्मीले दुःख दिन थालेपछि सम्पर्कविहीन भएको भाइको आश नै गुमाएका थियौँ, अहिले फर्कदा खुसी लागेको छ ।” तत्कालीन माओवादी जनसेनासमेत हुनुभएका रामलालले भाइको खोजी गर्न स्थानीय शान्ति समिति, रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइसीआरसी)मा समेत निवेदन दिएका थिए ।
सात दाजुभाइको पाँचौँ भाइ लक्ष्मणले बुबा वेदप्रसाद भट्टको विसं २०६८ मा मृत्यु भए पनि गाउँ आएपछि मात्र थाहा पाएको बताए । घरमा आएर सुरक्षाकर्मीले दुःख दिन थालेपछि भागेर मेघालय (भारत) पुगेको लक्ष्मणले बताउँदै लामो समयपछि फर्किनुभएका उनले अब घरमै बसेर खेती किसान गर्ने योजना बनाएका छन् ।