
प्युठान । बर्खा सुरु नहुँदै पहिरो गएपछि उत्तरी प्युठानका सर्वसाधारणले सास्ती पाएका छन् । चार दिनअघि नौबहिनी गाउँपालिका-६ स्थित फोप्लीको चन्द्रेओडारमा पहिरो गएपछि बाहाने-बाग्दुला सडक अवरुद्ध भएपछि स्थानीयले सास्ती पाएका हुन् ।
चार दिनदेखि यस क्षेत्रमा सञ्चालन हुने यातायातका साधन ठप्प भएका छन् । जिल्लाकै दुर्गममा पर्ने स्याउलीबाङ, खबाङ, डामृ, लिघा, फोप्ली, लुङसहित छिमेकी जिल्ला रोल्पाको गाम, सिर्पका सर्वसाधारण बजार गर्न बाग्दुला, बाहाने, बिजुवार र सदरमुकाम खलंगामा पैदल हिँडेर आवतजावत गर्नुपरेको बर्खा नलाग्दै पहिरोले सतायो, नौबहिनी गाउँपालिका-५ डामृका ६६ वर्षीय धनबहादुर सुनारले भने, हिउँदमै यस्तो दुस्ख पाउनुपर्यो।
जिल्लाकै व्यस्त मानिने यस सडक भएर बाहाने बजारका व्यवसायीले सामान ओसारपसार गर्न पाएका छैनन् । फोप्लीको झुसुले भीरपाखा सामुदायिक वनमा मूल फुटेर पहिरो गएको सुनारले बताए । पैदल पनि हिँड्न नसकिने गरी पहिरो गयो उनले भने, सधैं पहिरोको चिन्ताले सताइरहन्छ । पानी नै नबग्ने स्थानमा एक्कासि मूल फुटेर पहिरो गएपछि स्थानीय त्रसित छन् । गत साउन १० र ११ गते फोप्लीको अँधेरीमा आएको पहिरोमा पुरिएर सातजनाको घटनास्थलमै मृत्यु भएको थियो ।
यस सडकखण्डअन्तर्गत पर्ने धाइरे, दम्ती, चन्द्रेओडार, अँधेरीलगायत क्षेत्रमा बर्सेनि पहिरो गइरहने यातायात व्यवसायी झिमरुक गाउँपालिका-४ बांगेमरोठका नारायण रानाले बताए । चार दिन भयो बाहानेमा बस थन्किएकोु, उनले भने, सडककै कारण बर्सेनि सास्ती पाउँदै आएका छौं । यस सडकमा वर्ष दिनमा ६ महिनासमेत काठमाडौंका लागि नियमित रात्रि बस सञ्चालन गर्न नसकिएको उनले गुनासो गरे । अन्न्पूर्णपोष्ट बाट