१६ बैशाख २०७४, शनिबार

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख ३१ गतेको चुनाव स्थगित गर्ने घुमाउरो प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रवार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले पहिलो चरणको मतदानपछि मत गणना गर्ने कि नगर्ने भन्ने विषयमा प्राविधिक समस्या आएको भन्दै चुनाव जेठ ३१ गते एकै चरणमा गर्ने परिस्थिति आउन सक्ने बताए ।

पहिलो चरणको चुनाव सार्ने विषयमा बिहीवार नै प्रधानमन्त्री दाहालले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग सल्लाह गरेका थिए । दाहालसँगको भेटवार्ता पछि यादवले बैशाख ३१ गतेको चुनाव स्थगित गर्नु पर्ने भन्दै विज्ञप्ति निकालेका थिए ।

शुक्रवार भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले मुखै फोरेर बैशाख ३१ गते चुनाव गर्न प्राविधिक कठीनाई भएको बताएका बैठकमा सहभागि नेताहरुले बताए । सर्बदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका तर्फबाट अग्नी खरेल र भानुभक्त ढकाल सहभागि थिए ।

उनीहरुले चुनाव एक चरणमा बैशाख ३१ गते नै गर्नु पर्ने र संविधान संशोधनको यो प्रस्तावमा आफ्नो पार्टीले सहयोग गर्न नसक्ने जनाएर बाहिरिएका थिए ।

LIVE TV