
- सन्तोष काफ्ले,
सुनसरी । बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका धरानवासी अब आएर जलवायु परिवर्तनको असरले उत्पन्न गराएको समस्यासंग पनि जुझ्न बाध्य भएका छन् । धरानमा विगतको तुलनामा तापक्रम पनि बृद्धि हुनुका साथै पानीका प्राकृतिक मुहानहरु पनि सुक्न थालेका छन् ।
साउथ शसिया ईन्स्टिच्युट अफ एडभान्स स्टडिज (सियास) ले धरान उपमहानगरपालिकामा गरेको अध्ययनले जलवायु परिवर्तनका कारण धरानको तापक्रम ० दशमलव ०४९४ डिग्री सेल्सीयसले वृद्धि भएको जनाएको छ ।
अध्ययनमा यथास्थिति रहे १ सय वर्षमा ५ डिग्री सेल्सियस प्रतिशत सम्म धरानको तापक्रम बढ्दै जाने देखाएको छ । सियासले यस क्षेत्रको प्रारम्भीक अध्ययनका तथ्यांकहरुले यस क्षेत्रमा वर्षातको मात्रा घटेको, मुहान क्षेत्रमा पानीको बहाव घटेको, सहरीकरण संगै पानीको आपुर्तीमा समस्या आएको जस्ता सवालहरुलाई उजागर गर्दै धरान क्षेत्रमा जलवायु मैत्री पानी व्यवस्थापनका रणनीति अपनाउनु पर्ने सुझाव पनि दिएको छ ।
सियासका निर्देशक ङमिन्द्र दाहालले नेपालको औसत तापक्रम वृद्धिदर ६ प्रतिशत रहे पनि धरानमा मात्रै ५ प्रतिशतले वृद्धि हुने बताउनुभयो । उहाँले वर्षामा पानी कमी आउन थालेका कारण पानीका मुहानहरु सुक्दै गएको र अझै सुक्दै जाने सम्भावनाहरु रहेको बताए ।
धरानको खानेपानीको समस्या समाधान गर्न एशियाली विकाश बैंकको अनुदान र ऋण सहयोगमा संचालन भएको खानेपानी परियोजनाले मात्रै थेग्न नसक्ने विज्ञहरुको सुझाव छ । अवको परियोजना अनुसार ८० प्रतिशत पानीको स्रोत भुमिगत नै हो । तर घर निर्माण र धरानमा बन्दै गएको कंक्रिट संरचनाले वर्षाको पानीलाई जमिनमा सोस्न दिदैन र भुमिगत पानी पनि पलाउन नसक्ने भएकाले कंक्रिट भौतिक संरचना निर्माण गर्दा खाली जमिनहरु खुल्ला राख्नुपर्ने धरान उपमहानगरपालिकाका योजना अधिकृत ईन्जिनियर सुरज श्रेष्ठको भनाई छ ।
धरानमा जलवायु परिवर्तनले पानीका मुहानहरु सुक्दै गएकाले पानीका स्रोत तथा मुहानहरु संरक्षण गर्न जरुरी भैसकेको छ । पानीको मुहानहरुको संरक्षण गर्न वनजंगल जोगाउन विशेष कार्यक्रमहरु संचालन नगरे धरानको भविष्य संकटमा पर्ने निश्चित छ ।