१५ बैशाख २०७४, शुक्रबार
  • तारा आचार्य,

मोरङ । निजी विद्यालयहरुमाथि सरोकारवाला निकायको ध्यान गम्भीर बन्न नसक्दा अभिभावक तथा विद्यार्थीहरु निरन्तर पीडित बन्ने क्रम टुंगिन सकेको छैन् । आफैमा महंगो बन्दै गएको निजी शिक्षामाथि थपिने पाठ्यपुस्तकको मनपरिले निजी शिक्षा आकाशको फल बन्दै गएको छ । हरेक बर्ष दोहोरिने पाठ्यपुस्तकको समस्या अभिभावक र विद्यार्थीका लागि थप महंगो बन्दै गएको छ ।


बर्षेनी निजी विद्यालयहरुले पाठ्य पुस्तक परिवर्तन गर्ने गरेका कारण अभिभावकहरु पुस्तक पसल चाहर्न बाध्य बनाइएका छन् । एकातिर महंगो पुस्तक पाठ्यक्रममा समावेश गर्ने र अर्कोतिर ढिलो गरी पाठ्यपुस्तक सार्वजनिक गर्ने गरेकाले पुस्तक अभाव हुनु कुनै नौलो रहेन अब । बर्षेनी नयाँ पुस्तक किन्नै पर्ने बाध्यताका कारण नयाँ शैक्षिक सत्र सुरु हुनासाथ पुस्तक पसलहरुमा विद्यार्थी तथा अभिभावकहरुको भीड लाग्ने गर्दछ ।
नयाँ शैक्षिक सत्र शुरु भएका कारण यतिवेला बजारमा पुस्तक किन्नेहरुको भीड बढेको छ । वर्षैपिच्छे नयाँ पाठ्यांश सहितको पाठ्यपुस्तक थप गरिदै आएकाले पनि अभिभावक तथा विद्यार्थीहरुलाई नयाँ पुस्तक किन्नै पर्ने बाध्यता बढेको छ ।
निजी विद्यालयहरुले प्रत्येक वर्ष फरक फरक पाठ्यक्रम तय गर्ने मात्र नभई समयमा पाठ्यक्रम सूची सार्वजनिक नगरेका कारण व्यवसायीहरुले पुस्तक ल्याउन नसकेको गुनासो गरेका छन् । यसले गर्दा पुस्तक विक्रेताहरुलाई पुस्तक छनौटमा समस्या पर्दै आएको छ । मोरङमा प्रत्येक निजी विद्यालयहरुले पाठ्यपुस्तक सूची सार्वजनिक गर्नुपर्ने तथा जुनसुकै पुस्तक पसलबाट समेत खरिद गर्न सक्ने सहमति भएपनि सबै पाठ्यपुस्तक एकै ठाँउमा नभेटिने समस्या छ ।
निजी विद्यालयहरुले सूचीबद्ध गरेका पुस्तकहरु वर्षेनी महंगो मात्र नभई परिवर्तन समेत हुने गरेकाले यसतर्फ सम्बन्धित निकायको ध्यान नपुग्दा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु पीडित बनेका छन् । विराटनगरमा मात्र एक शैक्षिक सत्रमा करिब ५ करोड पाठ्यपुस्तक तथा स्टेशनरीहरु विक्री हुने गरेको बताइएको छ ।

 

LIVE TV