
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको छ । स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री बनाउन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो ।
आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ १६६००१४४२२२ नम्बरबाट तत्काल प्राप्त हुने आयोगले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कबाट उक्त नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्ने छैन ।
कल सेन्टर २०७४ वैशाख १५ गतेदेखि आगामी असार ३ गतेसम्म बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुनेछ । मोबाइल एपबाट मोबाइल प्रयोगकर्ताले निर्वाचन कार्यक्रम, मतदाताको विवरण, मतदानस्थल र केन्द्रको जानकारी, उम्मेदवारको विवरण, मत परिणामलगायत विभिन्न १० विषयमा जानकारी पाइनेछ ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले कल सेन्टर र मोबाइल एपको सञ्चालन शुभारम्भ गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी जिज्ञासालाई सम्बोधन गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको बताए । उनले आयोगले सञ्चालनमा ल्याएको कल सेन्टर र मोबाइल एपको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सम्बद्ध कर्मचारीलाई निर्देशन पनि दिए ।