
पर्वत । पर्वतमा भुकम्प गएको २ बर्षपछि ४ सय ५० पीडितसंग मात्र अनुदान सम्झौता भएको छ । यही चैत २८ गतेदेखि अनुदान सम्झौता शुरु भएको पर्वतमा अहिलेसम्म साढे चार सय पीडितसंग मात्र अनुदान सम्झौता भएको हो ।
जिल्ला तथ्यांकक कार्यालयले जिल्लाका सबै भुकम्प पीडितहरुको लगत संकलन गरिसकेपछि अनुदान सम्झौताका कार्यक्रम अघि बढाईएको हो ।
पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान शुरु गरेसंगै पर्बतमा साढे चार सय पीडितहरुलाई अनुदान सम्झौताको काम जारी रहेको जिल्ला तथ्यांक कार्यलयले जनाएको छ ।
अभियान सञ्चालन भएको मितिदेखि हाल सम्म मोदी गाउँपालिकामा २ सय ५० र दक्षिण क्षेत्रको महाशिला र बिहादी गाउँपालिकामा २ सय पीडित परिवारसंग आवास सम्झौता गरिएको जिल्ला समन्वय समिति पर्बतले जनाएको छ ।
जिल्लामा भुकम्पबाट १२ हजार १ सय १९ घरमा क्षति पुगेपनि पहिलो चरणमा लगत संकलनमा समाबेश भएका ४ हजार ३ सय ७३ पिडित परिबारलाई बितरण कार्य थालिएको हो । कतिपय पीडितहरुले आफ्नो आवास आफै निर्माण गरिसकेका छन् भने कतिपयले प्राविधिकहरु गाउँ नपुग्दा समस्यामा परेको पीडितहरुको गुनासो रहेको छ ।
तर, जिल्ला समन्वय समिति पर्बतका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुषालले भने पीडितहरुले बर्षायाम शुरु हुनु अघि नै रकम पाउने बताउनुभएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पीडितलाई सम्झौता गराएर बैशाख १२ भित्रै सबै पीडितहरुको खातामा रकम पठाईने बताएपनि सम्झौताको काम भने सुस्त गतिमा भएको छ ।