१५ बैशाख २०७४, शुक्रबार

 

काठमाडौँ, । चुरेभावर राष्ट्रिय एकता पार्टीले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी घोषणा गरेको छ ।

पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिले आज पत्रकार सम्मेलनमार्फत सो घोषणा गरेको हो । प्रमुखका लागि पार्टीका केन्द्रीय कोषाध्यक्ष विदुरप्रसाद घिमिरे र उपप्रमुखका लागि सहकोषाध्यक्ष सम्झना श्रेष्ठले उम्मेदवारी दिनुहुनेछ ।

चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपाने र काठमाडौँका अध्यक्ष पूर्णबहादुर क्षेत्रीले निर्वाचन तोकिएको समयमा हुनुपर्नेमा जोड दिँदै प्रस्तावित संशोधन विधेयकमा उल्लेख भएको भाषा र स्थानीय तहको सङ्ख्या वृद्धिमा आफ्नो पार्टीका तर्फबाट आपत्ति जनाउनुभयो ।

यसैगरी राष्ट्रिय जनमोर्चाले काठमाडौँ पश्चिमभेगस्थित चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई अघि सारेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दहचोकका उपप्रमुखमा दानी तथा वडा नं १ का अध्यक्षमा धर्मराज दानी र वडा नं ६ को अध्यक्षमा मनहरि बलामीको उम्मेदवारी सार्वजनिक गर्नुभयो ।

सो अवसरमा नेता केसीले देश बिखण्डनतर्फ उन्मुख भइरहेकामा चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नका लागि सचेत युवा एक जुट हुनुपर्नेमा जोड दिनुभयो । पार्टीको चन्द्रागिरि नगरसमिति इन्चार्ज गणेश कुँवरका अनुसार अन्य पदका लागि उम्मेदवार चयन गर्ने काम भइरहेको छ । रासस

LIVE TV