
नगरकोट । वैकल्पिक ऊर्जाको भरपर्दो माध्यम गोबर ग्यास हो । तर अहिले यहाँ गोबर ग्यास बनाउने मिस्त्रीको अभाव छ ।
बहत्तर सालको भूकम्पले घरमात्र होइन हजारौँको सङ्ख्यामा रहेका गोबर ग्यास प्लान्टलाई पनि क्षति पु¥याएको थियो ।
खाना पकाउन दाउरा, एलपी ग्यास नचाहिने, धुवाँ नआउने, भाँडा कालो नहुनेजस्ता कारण गोबर ग्यास समुदायमा लोकप्रिय छ । अझ शौचालयको भरपर्दो सेफ्टी ट्याङ्की गोबर ग्यास प्लान्ट हो । न भरिने डर, न गन्हाउने समस्या । बरु यो खाना बनाउने ग्यास र राम्रो कम्पोस्ट मल हो । त्यसैले ग्रामीण समुदायमा लोकप्रिय छ, गोबर ग्यास ।
अहिले पुनःनिर्माण प्रक्रिया अगाडि बढेसँगै विगतमा भत्केका गोबर ग्यासका ठाउँमा तथा घर बनाउने भूकम्प प्रभावितले नयाँ प्लान्ट बनाउन चाहने कृषकले मिस्त्रीको अभाव झेल्नुपरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका–८ का श्रीराम नेपालले ऋणधन गरेर घर निर्माण सक्नुभयो । उहाँलाई गोबर ग्यास बनाउन मन लागेर बनेपामा रहेको देउराली गोबर ग्यास कम्पनीमा सम्पर्क गर्नुभयो । कम्पनीले हुन्छ पनि भन्यो । उहाँले आफैँ उत्साही हुँदै खाडल खन्नुभयो । खाडल खनेको दुई महिना हुन लाग्यो तर कम्पनीले मिस्त्री पठाउन सकेन । नयाँ बनाएको घर सँगै खाडल खनिएको छ । वर्षा भइरहेको छ । श्रीरामलाई अहिले किन गोबर ग्यास बनाउन लागेछु भन्ने सुर्ता लागेको छ ।
श्रीराम मात्र होइन, सोही स्थानका जयराम नेपालको पनि अवस्था उस्तै छ । घरसँगै सेफ्टी ट्याङ्की पनि हुने, ग्यास पनि हुने भनेर घर नजिकै खाडल खन्नुभयो । डेढ महिना भइसक्यो मिस्त्रीको अत्तोपत्तो छैन । गाउँमा गोबर ग्यास निर्माणमा थप सहयोग जुटाइदिन पहल गर्ने समाजसेवी कृष्णप्रसाद नेपालले देउराली मात्र होइन, महिला जागृति, लर्ड बुद्धलगायतका गोबर ग्यास निर्माण गर्ने कम्पनीहरुमा पनि सम्पर्क गर्दा मिस्त्री उपलब्ध गराउन नसकेको बताउनुभयो ।
अहिले घर बनाउन गए दिनको एक हजार पाइन्छ । गोबर ग्यास निर्माण गर्न हिँडे बल्ल बल्ल एउटा प्लान्टको छ हजार पाइने । त्यो पनि कम्पनीले कहिले दिन्छ थाहा छैन । गोबर ग्यास निर्माण गर्ने भक्तपुर चित्तपोलका दिलीप कासुलाको अनुभव हो यो ।
अर्का मिस्त्री काभे्रका राजकुमार लामालाई सम्पर्क गर्दा उहाँ आफ्नो घर बनाउन छोडेर कसरी हिँड्नु भन्नुहुन्छ ।
मिस्त्रीहरुको पनि भूकम्पले घर भत्काइदिएको छ । सबै आफ्नै घर बनाउन लागेकाले यो वर्ष मिस्त्री जुटाउन गाह्रो परेको बनेपामा रहेको देउराली गोबर ग्यास कम्पनीका प्रबन्ध निर्देशक रेवती दुलाल बताउनुहुन्छ ।
सरकारले भूकम्प प्रतिरोधी घरमात्र होइन, सोलार र गोबर ग्यास पनि निर्माण गर्नुपर्ने भनेको छ । तर गाउँघरमा भनेको बेला भने जस्तो जनशक्ति पाउन मुस्किल छ । रासस