१५ बैशाख २०७४, शुक्रबार

धनगढी । तत्काल सुरु गर्ने भनिएको कैलालीको मोहनापुल धनगढीदेखि अत्तरियासम्मको ‘छ लेन’ सडकको निर्माण कार्य पाँच महिनासम्म पनि सुरु भएको छैन ।

गत मङ्सिरमा कार्यालय उद्घाटन समारोहमा मोहनापुल अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हप्ता दशदिनमा सडक निर्माण सुरु हुने बताए ।

सडक डिभिजन कार्यालयको चौरमा ब्यानर टाँगेर आयोजनाको कार्यालय उद्घाटन गरिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले कार्यालय उद्घाटन गरेका सो कार्यालयको अहिलेसम्म उचित व्यवस्थापन हुन नसकेको आयोजनाका एक कर्मचारीको भनाइ छ ।

आयोजना प्रमुख श्रेष्ठले भने –“सबै प्रक्रिया पूरा गर्नु पर्दा समय लागेकोले निर्माण समयमै सुरु हुननसकेको र वातारणीय परीक्षण (आइइ इ) सकिनासाथ काम अघि बढ्छ । ”

आगामी जेठको पहिलो साताबाट काम अघि बढ्ने उनले बताए।
धनगढी उपमहानगरपालिकाको मोहना नदीको पुलदेखि अत्तरिया नगरपालिकाको अत्तरिया चोकसम्मको जम्मा १४ दशमलव १७ किलोमिटर लामो यो सडकमध्ये सहरी क्षेत्रको १० किलोमिटर लामो भागमा छ लेनको र बाँकी ग्रामीण क्षेत्रको भागमा चार लेनको सडक निर्माण गर्ने लक्ष्य रहेको छ ।

सरकारको आफ्नै पहलमा सडक विभागको उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय अन्तर्गत निर्माण हुनलागेको यो सडकका लागि करिब रु दुई अर्ब १५ करोड लाग्ने बताइएको छ ।

अत्तरियादेखि धनगढीको मोहनासम्मको हालको सडक निकै साँघुरो एवम् जीर्ण हुँदा आवागमनमा कठिनाई उत्पन्न हुने भई बेलाबखत सडक दुर्घटना बढ्ने गरेको छ ।

LIVE TV