१५ बैशाख २०७४, शुक्रबार

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायका नेपाल प्रतिनिधिले वैशाख ३१ र जेठ ३१ मा हुन लागेको स्थानीय निर्वाचनको सफलताले नै लोकतन्त्रको असली अभ्यास सुरु हुने बताएका छन् ।

उनीहरुले दुई दशकपछि हुन गइरहेको स्थानीय निर्वाचनमा आफ्नो नेता छान्न जनसमुदाय उत्साहित रहेको बताएका छन् ।

अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, डेनमार्क, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे, संयुक्त राष्ट्रसंघ र युरोपेली महासंघका तर्फबाट यूएन कार्यालयले जारी गरेको वक्तव्यमा निर्वाचनमा व्यापक सहभागिता गराउन राजनीतिक सहमतिमा पुग्नसमेत प्रमुख दलसहित सबै पक्षलाई आग्रह गरेका छन् ।

वक्तव्यमा लोकतन्त्रमा सरकारलाई बलियो र जनताप्रति उत्तरदायी बनाउन जगैदेखि मजबुत हुनु आवश्यक रहेको उल्लेख छ । उनीहरूले लामो संघर्षबाट प्राप्त उपलब्धि कार्यान्वयन गर्न चुनाव महत्वपूर्ण खुड्किलो हुने विश्वास व्यक्त गरेका छन् ।

यसैबीच, ईयूका राजदूत रिन्छे टेरिन्कले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट गर्दै आगामी निर्वाचनको स्वागत गर्दै अधिकतम सहभागितामूलक र स्वच्छ निर्वाचनको सफलताको कामना गरेकी उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

LIVE TV