१५ बैशाख २०७४, शुक्रबार

लमजुङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् ।

प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि पार्टीमा उम्मेदवारी दिएको छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष एवम् नेपाल टेलिभिजनका लमजुङ प्रतिनिधि परमेश्वर अधिकारीले नेपाली काँग्रेसबाट सुन्दरबजार नगरपालिकाको मेयर पदको उम्मेदवारमा आकाङ्क्षा देखाउनुभएको छ । उनले पार्टीमा आन्तरिक उम्मेदवारीसमेत दिए ।

यस्तै, प्रेस युनियनका अर्का सदस्य एवम् अन्नपूर्ण पोष्ट दैनिकका लमजुङ समाचारदाता दीपक अधिकारीले दोर्दी गाउँपालिका–१ को वडा सदस्यमा टिकट पाइसक्नुभएको छ । अधिकारीले वडा सदस्य जितेर जिल्ला समन्वय समितिमा आउने दाबी गरे ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेलले दोर्दी गाउँपालिकाको प्रमुख पदको उम्मेदवारमा आकाङ्क्षा देखाए । पौडेल हाल जिल्लास्थित रेडियो भोटेओडारको निर्देशक र मूलखबर अनलाइनमा आबद्ध छन् ।

प्रेस सेन्टरका जिल्ला अध्यक्ष रुद्रहरि ढकालले पनि स्थानीय तह निर्वाचनमा सुन्दरबजार नगरपालिका–८ को वडाध्यक्ष पदको उम्मेदवारका लागि पार्टीमा निवेदन दिनुभएको छ । उनी पनि जिल्लास्थित रेडियो भोटेओडारको व्यवस्थापक हुन् ।

परिवर्तन सन्देश पत्रिकाका सम्पादक नारायण पौडेलले राइनास नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । उनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिने तयारी गरेको हो । सोही पत्रिकाका कार्यकारी सम्पादक एवम् प्रेस सोसाइटी लमजुङका जिल्ला अध्यक्ष वासुदेव थापाले मस्र्याङ्दी गाउँपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको छन् ।

यस्तै, पत्रकार महासङ्घ लमजुङका पूर्वअध्यक्ष एवम् ‘लमजुङ दर्पण’ दैनिकका सम्पादक कृष्ण केसीले नेकपा (एमाले)बाट बेसीसहर नगरापालिकाको प्रमुख पदका लागि आकाङ्क्षा देखाउनुभएको तर उनले पार्टीमा आन्तरिक उम्मेदवारी दिएपनि पछि फिर्ता लिएक थिए ।

सवैजनाले आन्तरिक पार्टीमा आकाङ्क्षा व्यक्त गर्दै उम्मेदवारी दिए पनि उम्मेदवार टुङ्गो भने कसैको पनि भएको छैन । पार्टीमा आकाङ्क्षी धेरै भएपछि दललाई उम्मेदवार चुन्न सकस भएको छ । रासस

LIVE TV