१४ बैशाख २०७४, बिहीबार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने भएको छ ।

आयोगले निर्र्वाचन अवधिभर सबै निर्वाचन केन्द्रहरुमा मानव अधिकार अधिकृत सहितको टोली अनुगमनको लागि खटाउने जनाएको हो ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै टोलीले, राजनीतिक दलहरूले शान्तिपूर्वक भेला गर्न तथा विचार अभिव्यक्त गर्न पाए न पाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए न भएको सम्बन्धमा अनुगमन गर्ने उल्लेख गरेको छ ।

यसका साथै मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनको क्रममा हुन सक्ने मानव अधिकार हनन्, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक लगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानव अधिकार सम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायतका विषयमा समेत टोलीले अनुगमन गर्ने जनाएको छ ।

LIVE TV