
काठमाडौं । ‘नेपालीले नेपालमै’ भन्ने मुल नाराका साथ स्थापना भएको माउण्ट एभरेष्ट (एमई) ग्रुप प्रा.लि.ले ‘अ सिम्बोल अफ ट्रष्ट’ स्लोगनसहित आफ्नो ग्रुपको नाम र कामबारे नेपालमा पहिलोपटक औपचारिक उद्घाटन गर्ने भएको छ ।
कम्पनीले आज राजधानीस्थित ठमेल ईको रिसोर्टमा पत्रकार सम्मेलन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को हातबाट भोली अर्थात (शुक्रबार) होटल अन्नपूर्णमा उद्घाटन गर्ने जानकारी दिएको हो ।
माउण्ट एभरेष्ट ग्रुपअन्तर्गत एमई ग्रुपको केन्द्रिय कार्यालय, एमई ट्राभल एण्ड टुर्स र एमई ब्राण्ड गरी तीन वटा प्रोजेक्टको औपचारिक घोषणा गरिने कम्पनीले जनाएको छ ।
४१ जना गैरआवसीय नेपाली व्यवसायीहरु आबद्ध रहेको यस कम्पनी बहुराष्ट्रिय कम्पनी हो । यस ग्रुपमा विभिन्न मुलुकमा रहेका गैरआवसीय नेपालीहरुले लगानी पनि गरेका छन् ।
विभिन्न मुलुकमा रहेका गैर–आवसीय नेपालीहरुको तर्फबाट पहिलो पटक नेपालमै केन्द्रिय कार्यालय भएको यो पहिलो कम्पनी हो । कम्पनीले ट्राभल एण्ड टुर्स, होटेल, रेष्टुरेन्ट, शिक्षा, सुपरमार्केट, कृषिलगायतका क्षेत्रमा सेवा तथा वस्तुको व्यापारमा लगानी गर्ने बताएको छ ।
हालसम्म सबै एनआरएनको नेपालमा शाखा कार्यालय मात्र भएको र नेपालको पैसा केन्द्रिय कार्यालयमा पठाउँदा विदेश पुग्ने गरेकोमा (एमई) ग्रुपको कार्यालय नेपालमै हुनुले विश्वश्निय रहेको कम्पनीका संस्थापक कमलराज अधिकारीले बताए ।
उनले वि.सं. २०८२ सम्ममा देश–विदेशमा गरी कारीब ५ हजार जना नेपालीहरुलाई रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराए ।
‘प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको विश्वमा पहिचान गराउँदै नेपालमा धेरै भन्दा धेरै लगानी भित्र्याउनु नै हाम्रो प्राथमिकता हो, उनले भने, ‘ २१ औँ शताव्दी भनेको नेपालको लागि उद्यमीहरुको देश हो ।’
त्यस्तै सम्मेलनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व महासचिव एवंम् वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्सालले कम्पनीलाई शुभकामना व्यक्त गर्दै यस्तो किसिमको कम्पनीले पर्यटन प्रवद्र्वन र विकासमा थप टेवा पुग्ने बताए ।