१४ बैशाख २०७४, बिहीबार

काठमाडौं । भारतीय चर्चित अभिनेता विनोद खन्नाको मुम्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा निधन भएको छ । सांसदसमेत रहेका खन्नाको ७० वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको हो ।

लामो समयदेखि बिरामी परेका खन्नाले थुप्रै फिल्महरुमा अभिनय गरेका थिए । उनी गत अप्रिलदेखि सिकिस्त बिरामी परेका थिए ।

खन्ना भारतीय जनता पार्टीको तर्फबाट सांसदसमेत बनेका थिए । एक सय ४० वटा भन्दा बढी फिल्मा अभिनय गरेका खन्ना पछिल्लो समय ब्लड क्यान्सरपीडित थिए ।

सन् १९४६ मा जन्मिएका खन्ना बलिउडका सुपरस्टार थिए । खन्नाले सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत बलिउडमा डेब्यु गरेका थिए । भिलेनको भूमिकामार्फत अभिनय सुरु गरेका खन्ना सुपरहिट अभिनेता बन्न सफल भए ।

सन् १९९८ देखि राजनीतिमा क्रियाशील खन्ना राजनीतिमा पनि सफल मानिन्थे । उनी पञ्जावको गुरदासपुरबाट चार पटकसम्म सांसद निर्वाचित भएका थिए ।

सन् २००३ मा अलट बिहारी बाजपेयीको प्रधानमन्त्री हुँदा उनी विदेश राज्यमन्त्रीसमेत बनेका थिए ।

LIVE TV