
काठमाडौं । सरकारले स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि प्रदेश नम्बर २ र ५ का ११ वटा जिल्लामा गरेको परिपत्र फिर्ता लिन सहमत भएपछि प्रमुख प्रतिपक्षी एमालेले सदनको अवरोध खुला गरेको छ ।
बुधवार राति संसद भवन नयाँ बानेश्वरमा बसेको मुख्य दलहरुको बैठकमा सरकार स्थानीय तहको संख्या नबढाउन सहमत भएपछि संसद बैठक सुरु भएको थियो ।
प्रतिपक्षीसँगको सहमतिपछि खुलेको सदनले बुधबारै संक्षिप्त सैद्धान्तिक छलफल गरी संविधान दोस्रो संशोधन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
राति साढे नौ बजे प्रस्ताव निर्णयार्थ पेस हुँदा सदनमा कोरम नपुगेपछि सभामुख घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरी राति १० बजे तेस्रो बैठक आव्हान गरेका थिइन् ।
सत्तापक्षले आफना मन्त्रीहरूलाई समेत समयमै उपस्थित गराउन नसकेपछि साढे दश बजेमात्रै बैठक बस्न सकेको थियो । राति अबेरको बैठकमा १ सय ५१ उपस्थित थिए ।
कोरमका लागि कुल सदस्य संख्याको एक चौथाई अर्थात १ सय ४९ आवश्यक पर्छ । कोरक नपुगेको् अघिल्लो बैठकमा भने ६ मन्त्री सहित १ सय २८ सांसद मात्रै उपस्थित थिए । अर्को बैठक १७ गते आइतबारका लागि राखिएको छ । त्यसै दिन संशोधन विधेयक पारित गराउने सत्तापक्षको तयारी छ ।