१३ बैशाख २०७४, बुधबार
  • छविलाल बगाले

लमजुङ । लमजुङमा संचालित मध्यमस्र्याङ्दी र माथिल्लो मस्र्याङ्दी–ए पूर्ण क्षमतामा संचालनमा आएको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेसँगै ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए बाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु भएको हो ।

हिउँदभरी पानीको अभावमा एउटमात्रै टर्बाइन चलाएर विद्युत उत्पादन गरेपनि बुधबारदेखि नदीमा पानीको प्रवाह बढेपछि विद्युत उत्पादनको क्षमतामा बृद्धि भएको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।

यसअघि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दीबाट २५ र ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ३५ मेगावाटमात्रै विद्युत उत्पादन हुँदै आएको थियो । मनाङका हिमालहरुमा हिउँ पग्लन थालेको र लमजुङमा पानी पर्न थालेपछि नदीमा पानीको बहाव बढ्न थालेसंगै विद्युत उत्पादनमा बृद्धि भएको न्यौपानेले बताए ।

विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले पानीको बहावसँगै विद्युत उत्पादन बढेपछि जिल्लामा संचालित ५ आयोजनाबाट उत्पादित विद्युतलाई मध्यमस्र्याङ्दी केन्द्रमा जडित १३२ केभी प्रसारण लाइनबाट ३३ केभी प्रसारण लाइनमार्फत तनहुँको डुम्रेतर्फ पठाउने तयारी गरेको छ ।

जिल्लामा विद्युत उत्पादन गरिरहेका ४ दशमलव ४ मेगावाटको राँधी खोलाबाट १ दशमलव ८, ५ मेगावाटको सिउरीबाट १ दशमलव ३५, ४ मेगावाटको खुदीबाट २ दशमलव ४, २ मेगावाटको छ्याङ्दीबाट पाँचसय किलोवाट र एकसय ८३ किलोवाटको स्याँगेबाट एकसय किलोवाट मात्रै विद्युत उत्पादन भएको छ ।

यि सबै आयोजनाको जडित क्षमता झण्डै १६ मेगावाट रहेको छ । बर्खायाम लागेसँगै नदी तथा खोलानालाहरुमा पानीको बहाव बढेपछि विद्युत उत्पादन बढ्ने र उत्पादित विद्युतलाई सजिलै पठाउनको लागि सरकारले १३२ केभी मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी डबल सर्किटको काम युद्धस्तरमा अघि बढाएको छ ।

आगामी एक महिनाभित्रै काम सक्ने गरी काम गरिरहेको मध्यमस्र्याङ्दी डुम्रे–दमौली प्रसारण लाइन आयोजनाका प्रमुख गणेश केसीले बताए । आगामी एक महिनामा प्रसारण लाइनको काम नसकिए जिल्लाबाट उत्पादन हुने विद्युत खेर जाने पक्का भएको छ ।

मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दीसम्मको कुल ३८ किलोमिटर मध्ये ३१ किलोमिटर क्षेत्रमा तार टाँग्ने काम सकिएको भएपनि काम कहिले सकिन्छ भन्नेमा अन्योल भने कायमै रहेको छ । आगामी एकमहिनाभित्र जिल्लाबाट मात्रै एकसय ३८ मेगावाट विद्युत उत्पादन हुनेछ ।

LIVE TV