- लोकेन्द्र खनाल
रुकुम । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा रुकुममा तयारी तीब्र बनेको छ । स्थानीय विकास निर्माणका मुद्दा र सम्भावित उम्मेद्वारको पक्ष–विपक्षमा सर्वसाधारणबीच बहस चर्कदो छ । दलहरुले पनि गाउँ गाउँमा पुगेर जनताको मन जित्ने प्रयास युद्द स्तरमा गरिरहेका छन् ।
रुकुममा दलहरु निर्वाचन लक्षित कार्यक्रमका साथै उम्मेदवार छनौट गर्न, नयाँ नगरपालिका र गाउँपालिकामा जिम्मेवारी तोक्न आन्तिरिक बैठक र भेलामा ब्यस्त छन् । जिल्लामा रहेका दलहरु चुनावी प्रचारको तयारीमा जुटेसंगै जिल्ला चुनावमय बन्दै गएको देखिन्छ । दलहरु अबको निर्वाचनलाई आफ्नो पक्षमा पार्नको लागि विभिन्न कसरतहरु गरिरहेका छन् ।
करिब २० वर्षसम्म स्थानीय निकायको जनप्रतिनिधिलाई मतदान गर्न नपाएका मतदाताले आफूले रोजेका जनप्रतिनिधि चुन्न पाउने भएसँगै गाउँपालिका र नगरपालिकाहरुमा चुनावी उत्साह थपिएको हो । निर्वाचनपछि वडा अध्यक्ष, सदस्य र गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुख निर्बाचित भएसंगै स्थानीयवासीले विकासको आशा पनि गरेका छन् । आफ्नो जितलाई सुनिश्चित गर्नको लागि प्रभावशाली नेतालाई निर्वाचनमा उठाउन तयारी गरिरहेको नेकपा माओवादीका रुकुम ईन्चार्ज तेजबहादुर ओली बताउँछन् ।
यस्तै एमालेले पनि चुनाबी गतिबिधिलाई तीब्र पारेको छ । निर्बाचनका लागि नेता तथा कार्यकर्ताहरु गाँउगाँउमा पुगिसकेको एमालेका रुकुम अध्यक्ष विमलकुमार पुनले बताए ।
यता जिल्ला निर्बाचन कार्यालय रुकुमले पनि निर्बाचनको तयारीलाई तीब्र बनाएको छ । निर्वाचनको लागि जिल्लामा मुख्य निर्बाचन कार्यालय स्थापना गरी निर्बाचनको तयारी गरिरहेको जिल्ला निर्बाचन कार्यालय रुकुमका प्रमुख कमलमणि देबकोटा बताए ।
३ नगरपालिका र ६ गाँउपालिका गरी ९ स्थानीय तह रहेको रुकुममा १ लाख एक हजार ९ सय ३२ मतदाताले १ सय ४५ मतदानकेन्द्रबाट मतदान गर्दैछन् ।