१३ बैशाख २०७४, बुधबार
  • कृष्ण पाण्डे

रुपन्देही । बुटवल उपमहानगरपालिका कार्यसम्पादन मुल्याङकनका आधारमा सरकारद्वारा लगातार चार पटकसम्म उत्कृष्ट उपमहानगरपालिका घोषित हुन सफल भयो । तर यही उत्कृष्ट उपमहानगरपाकिाको वडा नं. ११ (साविकको १३) स्थित मैनाबगर टोलबासी भने विकासका न्यूनतम पूर्वाधारबाट पनि वञ्चित बनेका छन् । मैनाबगर बगर झै फुङ्ग उडेको छ , न सुविधा नत सुखसयलका सेवाहरु नै । सरकारी अड्डाहरु उदासिन बन्दा मैनाबगर मैना हराए बगरको बोझमात्र बोक्न विवश छ ।

मैनबगरमा उपमहानगरपालिकाले न सडक बनाइदिएको छ, न खानेपानी नै, उसो त मैनाबगरमा यातायात सेवा अझै पुग्न सकेको छैन । यो टोलका एक सय घरहरु उपमहानगरका बासिन्दाले पाउने सेवा सुविधा पनि पाउन नसकेको गुनासो सुनाउन विवश छन् । उपमहानगरपालिका कार्यालयबाट एक किलोमिटर दूरीमा रहेपनि सरकारी अड््डाको ध्यान मैनाबगर टोलमा नपुगेको स्थानीयको गुनासो छ ।
मैनाबगरका बासिन्दालाई बुटवल बजारसम्म पुग्न पनि ठूलै कसरत गर्नुपर्छ । कारण हो, यहां न त माइक्रो बस चल्छन् नत रिक्साहरु नै भनेको बेलामा पाइन्छ । टोलबासी कि त पैदल हिंडेर राजमार्गसम्म पुग्नुपर्छ कित रिक्सा÷ई रिक्सा खोज्न भौंतारिनुपर्छ । सरसफाई र ढल निकासको समस्या पनि उस्तै छ ।

त्यसमाथि नजिकै रहेको अटो भिलेजमा मर्मतसम्भारका लागि ल्याइएका गाडीहरु काम नलाग्ने अवस्थामा पुगेका र ग्यारेजमा नअटाउने अवस्था थोत्रो गाडीहरु यही टोलमा ल्याएर थन्काइंदा टोल नै थप कुरुप बन्न पुगेको छ । मैनबगरका बासिन्दाले आधारभूत खानेपानीको समस्या उस्तै गरी झेलिरहेको छ ।

उपमहानगरपालिकाले चासो नदिएपछि टोलबासी आफैँले रकम उठाएर बोरिङबाट जसोतसो निर्वाह गरेका छन् । सडकको नाममा कच्ची र सवारी साधनको आगमन हुन नसक्ने खालका सडकले झन स्थानीयलाई थप समस्या पारेको छ । देशकै उत्कृष्ट उपमहानगरपालिकाको उपमा पाएको बुटवलले वत्तीमुनिको अंध्यारो जस्तै भएको मैनाबगर टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर रानाले बताए ।

यता बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डे मैनाबगर टोल विकासमा पछि परेको स्वीकार्नु हुन्छ । मैना बगरमा सुकुम्बासीको बसोबास भएको र विकास निर्माणमा केही समस्या भएको पाण्डेको तर्क छ ।

उपमहाननगरपालिकाका बसिन्दाले नगरपालिकाको मापदण्ड अनुसारको विकास अझै नपाएर विकट र अभाव भोगिरहेको अवस्थामा देशको उत्कृष्ट नगरपालिकाको उपमा उचालिरहनु कत्तिको सुहाँउदो होला ? मैनाबगरलाई हेरिनु पर्छ , विकास स्वाद चाख्नका लागि आम नेपाली बरोबर हकदार छन् , कसैलाई पनि समस्या देखाएर उपेक्षा गरिनु हुन्न ।

LIVE TV