१३ बैशाख २०७४, बुधबार

धादिङ । नेकपा माओवादी केन्द्र धुवाकोट योङ कम्युनिष्ट लिग (वाइसिएल) र अखिल नेपाल महिला संघ (क्रन्तिकारी) र जनवर्गीय संगठनको संयुक्त भेला सोमबार सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य पुष्पविक्रम मल्लले संगठनलाई मजबुत बनाउन सबै मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘संगठन बलियो भयो भने नै गाउँ विकास हुने हो ।’

स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जित्ने उनको भनाई छ । उनले भने, ‘वैशाख ३१ गते हुने निर्वाचन गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । गाउँ–गाउँमा सिंहदरबार खडा गर्ने गाउँ सरकारको निर्वाचन हो । निमूखा जनता सिंहदरबार छिरेर आफ्नो अधिकार लिन सक्दैनथे, अब माओवादीले सिंहदरबार जनताको गाउँ–नगरमा ल्याईदिएको छ । माओवादी केन्द्रको उपहार, गाउँ÷नगरमा सिंहदरबारको नारा लिएर जनतामा जानुस्, त्यसले निर्वाचनको वातावरण थप बलियो बन्नेछ र माओवादी केन्द्र पनि विजयी हुनेछ ।’

त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समितिका संयोजक सोम्बले तामाङ ‘अक्कल’ ले निर्वाचनको प्रक्रिया धेरै अघि बढिसक्यो, अब निर्वाचन हुँदैन कि भनेर कसैलेपनि शंका गर्नुहुँदैन, अब रोकिने र नहुने भन्ने हुँदैन्, कारणवश कुनै दल छुटे पनि उनीहरुलाई क्षतिपूर्तिसहित प्रदेश र संघीय निर्वाचनमा समेट्न सकिने बताए ।

उनले संविधान कार्यान्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको भन्दै निर्वाचनका लागि सरकार अघि बढिसकेको बताए । उनले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा गाउँ पार्टी अध्यक्ष नमराज दुवाडीले स्थनीय तहको निर्वाचन भनेको जनतको भाग्यको चाबी हो, यसको हस्तान्तरण गर्न उपयुक्त व्यक्ति छान्ने समय आएकाले आफ्नो भोट माओवादी केन्द्रलाई दिएर आत्मसाथ गर्न आग्रह गरे ।

त्यस्तै संयुक्त भेलाले बुद्वि तामाङको अध्यक्षतामा वाइसिएलको २१ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

LIVE TV