काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमाले बिना नै दुई तिहाई बहुमत पुर्याएर संविधान संशोधन गर्ने चेतावनी दिएका छन् । ‘म जसरी पनि दुई तिहाई पुर्याएर संशोधन गर्छु, पछि फेरि प्रचण्डले हामीलाई सोधेन नभन्नुहोला’ प्रचण्डले भने ।
संसद भवनमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गर्ने र स्थानीय तहको संख्या थप्ने विषय उठाउँदा एमाले नेताहरुले विरोध गरे । एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि खुलेरै विरोध गरे ।
सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले चुनाव देखाएर राष्ट्रमाथि नै खेलबाड गर्न खोजिएको आरोप लगाए ।
ओलीले स्थानीय तहको संख्या बढाउने तयारीबारे सोध्दा हल्लाको पछि नलाग्नुस् भनेको तर, ११ जिल्लामा स्थानीय तहको संख्या बढाउनका लागि पत्राचार गरेको पाइएको भन्दै उनले बेइमानी नगर्न चेतावनी दिए ।
कुनै पनि हालतमा संशोधन नहुने र ११ जिल्लामा एक सय स्थानीय तह संख्या थप गर्न नहुने एमालेले अडान कायमै राख्यो । संविधान संशोधन विधेयक राष्ट्रको पक्षमा नभएकाले कुनै हालतमा पारित हुन नदिने एमालेले अडान राखेको थियो ।
संविधान संशोधन र स्थानीय तह निर्वाचनको छलफल गर्न डाकिएको चार दलको शीर्ष नेतृत्वको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस, माओवादीे, राप्रपा र प्रमुख प्रतिपक्ष दल एमालेबीच भएको छलफलमा कुनै निष्कर्ष निस्कन सकेन् ।