१३ बैशाख २०७४, बुधबार
  • प्रदीप

काठमाडौं । राजनीतिक दलहरुबीच स्थानीय तहको संख्या पुनः थप गर्ने बारेमा समस्या उत्पन्न भइरहेको बेलामा निर्वाचन आयोगले भने ७ सय ४४ वटा स्थानीय तहमा मात्रै निर्वाचन हुने स्पष्ट पारेको छ । आयोगले दलहरुबीच भइरहेको विषय भन्दा पनि संविधान ठूलो भएकाले संविधान अनुरुप नै निर्वाचन हुने बताएको छ ।

सरकारले स्थानीय तहको संख्या थप गर्ने तयारी गरिरहेका बेला आयोगले ७ सय ४४ वटा तहमा मात्रै निर्वाचन गर्न सकिने प्रष्ट्याएको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले संविधानले तोकेको परिधिभित्र रहेर ७ सय ४४ वटा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए ।

उनले बाहिरी हल्लाको पछाडि नलाग्न आग्रह गर्दै आयोगले संविधान अनुरुप नै अघि बढ्ने बताए ।

त्यसैगरि निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारीलाई पनि अघि बढाएको जनाएको छ । अयाोग प्रवक्ता शर्माले जेठ ३१ गते दोस्रो चरणको निर्वाचनका लागि आवश्यक सामग्री र जनशक्ति व्यवस्थापनको कामलाई पनि अघि बढाइएको बताए ।

आयोगले निर्वाचनका विषयमा संविधानमा तोके अनुरुप नै अघि बढ्ने बताइरहँदा एमालेले भने संसदमा सरकारले स्थानीय तहको संख्या थप्न लागेको भन्दै विरोध जनाएको छ ।

LIVE TV