१३ बैशाख २०७४, बुधबार
  • दीपक उपाध्याय

कैलाली । नेकपा एमालेका उपाध्यक्ष एवं सात नम्बर प्रदेशका संयोजक भीम रावलले काँग्रेस–माओवादी केन्द्र गठबन्धनले चुनावको बेला संविधान संशोधनको बखेडा झिकेर चुनाव भाँड्ने काम गरेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार वाह्य हस्तक्षेप निम्त्याउने खेलमा लागेको जिकिर समेत गरे ।

नेकपा एमाले सात नम्बर प्रदेशले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेपछि जनतामा भ्रमको सिर्जना गर्ने लगायतका कार्य गर्नुको साटो निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भएरहित वातारणमा सम्पन्न गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए । उनले निर्वाचनको सट्टा संविधान संशोधनको कुरा उठाएकोले नेकपा एमालेले विरोध गरेको बताए ।

उपाध्यक्ष रावलले नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार माघ ७ पछि अनिश्चयको खाडलमा देशलाई लैजाने र बाहिरी हस्तक्षेप निम्त्याउने खेलमा लागेको आरोप समेत लगाए ।

उनले स्थानीय तह पुर्नसंरचना आयोगले निर्वाचन आयोगलाई पठाएको प्रतिवेदनको आधारमा निर्वाचन आयोगले चुनावको सम्पूर्ण तयारी पूरा गरिसकेको अवस्थामा अहिलेको सरकारले जनतालाई अल्मल्याएर अनन्तः पीडातर्फ धकेल्ने षड्यन्त्र भैरहेको आरोप लगाए ।

नेता रावलले चुनावको मिति घोषणा पछि निर्वाचन आयोगले निर्वाचन सामग्री समेत सम्बन्धित स्थानमा पु¥याइसकेको अवस्थामा निर्वाचन गर्न नदिनु गम्भीर षडयन्त्र भएको बताए । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र केहि मदेशबादी दलहरुले संविधान संशोधनको कुरा ल्याएर कतै चुनाव हुन नदिने खोजेको नेता रावलको आरोप थियो ।

LIVE TV