१३ बैशाख २०७४, बुधबार

फलेवास । जापानमा नेपाली परिकार बिक्री गरेको रकम सङ्कलन गरी पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित एक विद्यालयकी पूर्वविद्यार्थीले रु सात लाख रकमको अक्षयकोष स्थापना गरेका छन् ।

शिवालय माविमा अध्ययनरत विद्यार्थीले भूकम्पपीडित, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ कोषको स्थापना गरे । जिल्लाको मोदी गाउँपालिका घर भई हाल जापानको नागासाकीमा बस्दै आउनुभएकी उषा पौडेल भण्डारीले जापानको चिकियोकान नामक संस्थाको समन्वयमा विभिन्न नेपाली परिकार, नेपाली लुगा बिक्री गरेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरे ।

नौ वर्षअघि जापान पुगेकी भण्डारीले परिवारका अन्य सदस्यको सहयोग लिएर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन । “पैसा जुटाउनका लागि विभिन्न स्थानमा च्यारिटी शो देखाउने काम पनि गरियो”, उनले भने, “जुन उद्देश्य लिएर अभियान थालिएको थियो त्यो उद्देश्य पूरा भयो ।”

गत वर्ष स्थापना भएको नागासाकी–भद्र–सरस्वती अक्षयकोषको ब्याज रकमबाट मङ्गलबार विद्यालयमा भूकम्प गएको दिन पारेर एक कार्यक्रमको आयोजना गरी भूकम्पपीडित बालबालिकाका साथै गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

अक्षयकोष व्यवस्थापनका लागि बनेको समितिको बैठकले विद्यालयमा अध्ययनरत बालबालिका मध्येबाट १२ जना लक्षित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

LIVE TV