१२ बैशाख २०७४, मंगलवार
  • रामगोपाल,

भक्तपुर । विनाशकारी भूकम्पको समयमा २२ घण्टा लामो एक्लो यात्रा त्यो पनि चार महिने बालकको । अपत्यारिलो लाग्ने गरी भत्किएको घरभित्रबाट जिवित निकालिएका भक्तपुर कमलबिनायक मूलढोकाका सोनिष अवाल अहिले अढाई वर्ष पुग्न लागे । अहिले उनी आफ्ना उमेरका साथीहरुमा सबैभन्दा बढि स्मार्ट छन् ।

सोनिष आफ्नी दिदीसंगै बैशाख १२ को भूकम्पमा घरभित्रै पुरिएका थिए । दिदीहरु त भागेर बाँचे । तर चार महिने सोनिसको २२ घण्टापछि नेपाली सेनाले जिबितै उद्दार गरेको थियो । सोनिषलाई अहिले भक्तपुर शिशुस्याहारमा राखिएको छ । सोनिषलाई जिवित भेटिदाँको क्षण सम्झदै आमा रमिला अवाल अहिले पनि हर्षित छन् ।
अहिले निकै चकचके यो बालक २२ घण्टा पुरिएपछि निस्किँदा पनि मुसुक्क हाँसेको थियो । भग्नावशेषबाट निकाल्दा सबैले ताली बजाएका थिए । भग्नावशेष भित्रैबाट बच्चा रोइरहेको आवाज आएपछि नेपाली सेनाले त्यस घरमा ठाउँमा होसियारीपूर्वक खोजी शुरु गरेको थियो । त्यहीँ क्रममा सोनिस भेटिएका थिए । सोनिषको अहिलेको व्यवहार भिन्न र अब्बल रहेको शिशुस्याहार केन्द्रकी धर्मलक्ष्मी सुजखुले बताए ।
सोनिष जीवितै पाउँदा परिवारमा छाएको खुशी त बेग्लै भयो तर अभाव र अप्ठ्याराकाबीच यो परिवार दुःखको जिन्दगी बाँचिरहेको छ । सोनिष आमाबुबाका आफ्नो भन्ने कुनै घर नहुदाँ र घर बनाउन नसक्दा थप पीडा छ । अवाल परिवारले भत्किएको घर पनि चार दाजुभाईलाई अंशबन्डा गर्नुपरेको छ र सडकको नजिक र सडकको मापदण्ड अनुसार उनको घर अब फेरी पहिलाकै जस्तो बनाउन नमिल्ने भएको छ । सानो कोठा भाडामा लिएर बसिरहेको सोनिषका आमा रमिला अवालको गुनासो गरे ।

अवाले परिवारले जग्गाधनी प्रमाणपूर्जा नभएर सरकारी राहतसमेत पाएको छैन । त्यसो त सोनिषको शिक्षाका लागि कक्षा ३ देखि नेपाली सेनाले निशुल्क अध्ययन गराउने जिम्मा लिएको छ । सोनिषको दिदी सोनियालाई चाहिँ मनकामना केबलकारका रोशनबावु श्रेष्ठले दाताहरू खोजेर निःशुल्क पढाउने व्यवस्था मिलाएका छन् । बोर्डिङमै पढिरहेकी सोनियाको कुनै पनि खर्च घरबाट बेहोर्नुपर्दैन । छोराछोरीले पढ्न पाउने भएपनि कमलविनायकस्थलमा सानो ठाउँमा रहेको उनीहरूको पुरानो घर भत्किएको छ । नयाँ बनाउन नियमले दिदैन ।

 

LIVE TV