
काठमाडौं । संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले मुलुकको एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालय तथा युनानी औषधालयलाई हालकै ठाउँमा ‘निर्वाध चल्न दिन’सम्बन्धित सरकारी निकायसँग आग्रह गरेको छ ।
सरकारले ललितपुर उपमहानगरपालिका ३, हरिहर भवनस्थित पशुपति होमियोप्याथिक चिकित्सालयको घरजग्गा पाटन उच्च अदालतलाई दिने निर्णय गरेको थियो । मुलुककै एक मात्र होमियोप्याथिक अस्पताल पशुपति होमियोप्याथिक चिकित्सालयले जनतालाइ दिंदै आएको सेवा सुबिधालाइ ध्यानमा राख्दै समितिले नहटाउन सरकारलाई निर्देशन दिएको हो ।
पशुपति होमियोप्याथिक चिकित्सालयलाई स्तरोन्नति र सेवा बिस्तार गरी आम जनतामाझ थप प्रचारप्रसार गर्न महिला बालबालिका जेष्ठ नागरिक समाज कल्याण समितिले निर्देशन दिएको छ ।
पशुपति होमियोप्याथिक चिकित्सालयमा बिरामीको स्वास्थ्य परीक्षण गराउन, पुर्जी काट्न र औषधि लिनका लागि शुल्क लाग्दैन ।
गरिबीको रेखामुनि जीवनयापन गर्ने र अन्य उपचार पद्घतिबाट निको नभई विकल्प खोज्ने बिरामीका लागि पशुपति होमियोप्याथिक आकर्षणको केन्द्र रहिआएको छ ।