१२ बैशाख २०७४, मंगलवार

लमजुङ । लमजुङ सदरमुकाम बेसी शहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई थप प्रभावकारी एवं समय सापेक्ष बनाउन अत्याधुनिक मेसिन जडान गरिएको हो ।

मानव विकास तथा सामुदायिक सेवाले ब्यवस्थापनको जिम्मा लिएको लमजुङ जिल्ला सामूदायिक अस्पतालमा करिव ७० लाख बराबरको लगानीमा डिजीटल एक्सरे मेसिन खरिद गरि संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।

एक्सरे मेसिनवाट हाडजोर्नीका समस्या भएका बिरामीहरुको शल्यक्रिया गर्दा १० सेकेन्डमा नै हाड तथा जोर्नीको शल्यक्रिया भएको स्थानमा मिलेको वा नमिलेको थाहा पाउन सकिने जिल्ला अस्पतालका प्रशासक युवराज देवकोटाले बताए ।

वाईफाई प्रविधिद्धारा एक्सरे गर्न सकिने भएकोले समयको बचतसँगै काममा सहजता हुने बताइएको छ । अस्पतालमा लिइएको एक्सरे अन्य अस्पतालमा देखाउनुपरेमा पेनड्राईभ अर्थात इमेलमार्फत पनि पठाउन सकिने अस्पतालले जनाएको छ ।

यसअघि अस्पतालले सिआर एक्सरे मेसिनबाट सेवा उपलब्ध गराउदै आएको थियो । जर्मनीको अग्फा केयरवाट उत्पादित यो मेसीन वायरलेस ब्राण्डको हो । यहि प्रकारको मेसिन नेपालको बी एण्ड बी अस्पताल, ओम अपताल र रुकुमको चौरजहारी अस्पतालमा मात्र रहेको बताइएको छ ।

LIVE TV