१२ बैशाख २०७४, मंगलवार
  • दीपक भट्ट,

रामेछाप । भुकम्प गएको दुई वर्ष पुरा हुँदा पनि रामेछापका भुकम्पपीडित नागरिकहरुले आफ्ना घर निर्माण गर्न सकेका छैनन् । पानी र काठको अभावका कारण उनीहरुले घर निमार्ण गर्न नसकेका हुन् । रामेछापका २ नगरपालिका सहित ४ गाउँपालिकाका २७ वटा वडाहरुमा अहिलेसम्म पीडीतहरुले आफ्नो घर निमार्ण गर्न सकेका छैनन् । पानी र काठको समस्या मात्र होइन रामेछापमा तालिम प्राप्त दक्ष जनशक्ति नभएका कारणले पनि घर बनाउन समस्या भएको छ ।

सरकारले भुकम्प पीडित नागरिकहरुलाई घर निमार्णको लागि रामेछापका ४१ हजार ९८ घरपरिवारलाई पहिलो किस्ता वापत ५० हजार रुपैयाँ दिए पनि पीडितहरुले घर निमार्ण गर्न सकेका छैनन् । सरकारले ढिलो गरी अनुदान रकम दिए पनि पानी र काठको अभावले घर निमार्ण गर्न नसकिएको स्थानियले गुनासो गरेका छन् ।

रामेछापको साँघुटार, हिमगंगा, रामपुर, सुकाजोर, देउराली, ओख्रेनी, भलुवाजोर, पकरवास, माकादुम, भिरपानी, खनियापानी, रामकाथुम, वेथान, रामेछाप र मन्थली लगाएत तीन दर्जन भन्दा बढी स्थानमा खानेपानीको चरम समस्या छ । भुकम्प पीडितहरुलाई एकातिर खानेपानीको समस्या त अर्कोतिर काठको समस्याले गर्दा अझै पनि अस्थायी टहरामा बस्नुपरेको बताएका छन् ।

४१ हजार घर पुनर्निमार्ण गर्नु पर्ने र त्यसको लागि ६ लाख क्युफिट काठ आवश्यक भए पनि रामेछापभित्रका सामुदायिक वनहरुवाट १ लाख ५० हजार क्युफिट मात्र काठ निकाल्न सकिने भएकाले भुकम्प पिडीतलाई काठ वितरण गर्न नसकिएको जिल्ला वन कार्यालय रामेछापले जनाएको छ ।

गरपालिकाको सन्दर्भमा अनिवार्य रुपमा घर निमार्णको लागि नक्सा पास गराउनु पर्ने र त्यसको लागि घर वनाउने ठाउँसम्म पुग्न कम्तिमा ४ मिटरको वाटो अनिवार्य हुनुपर्ने भएकाले पनि समयमा घर निमार्ण हुन नसकेको हो ।
पानी र काठको समस्या मात्र होइन रामेछापमा तालिम प्राप्त दक्ष जनशक्ति नभएका कारणले पनि घर बनाउन समस्या भएको छ । ४१ हजार घर पुननिमार्णको लागि कम्तीमा पनि ४० हजार दक्ष जनशक्ती आवश्यक भए पनि जिल्लामा ९ सय १० जना तालीम प्राप्त दक्ष जनशक्ती मात्र छन् । अहिले रामेछापमा ८ सय ९० वटा घर पुर्ननिर्माण भइसकेका र ४ हजार ३ सय ३४ वटा घरहरु निमार्णधिन अवस्थामा रहेका छन् ।

पुनर्निमार्णको लागि समयमा काठ उपलव्ध नहुनु, घर निमार्णको लागि पानीको चरम समस्या हुनु र तालिम प्राप्त दक्ष जनशक्ति नभएका कारण रामेछापमा समयमा पुनर्निमार्णको काम सकिन समस्या भएको राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय रामेछापका प्रमुख ऋषिराज आचार्यले बताए ।

रामेछापमा भूकम्पले ५० हजार निजी आवास, १ सय १३ सार्वजनिक तथा सरकारी भवन र ४ सय १९ विद्यालय भवनमा क्षति पु¥याएको छ । त्यसैगरी स्वास्थ्य केन्द्र ५२, सामुदायिक भवन १ सय ९८, पूर्वाधार संरचनाहरु ३८ वटा र ७९ सिंचाई तथा लघु जलविद्युत योजनामा भुकम्पले क्षति पु¥याएको छ ।

LIVE TV