१२ बैशाख २०७४, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक प्रकरणको अन्तिम फैसला नआएसम्म त्यस विषयलाई लिएर डिआइजी नवराज सिलवाल केही नगर्न आदेश दिएको छ । सर्वोच्च अदालतले महानिरीक्षक नियुक्ति प्रकरण जोडेर डिआइजी सिलवालमाथि छानवीन, निलम्बन वा कुनै अभियोगमा मुद्दा नचलाउन सरकारका नाममा आदेश दिएको हो ।

न्यायाधीशहरु जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको पूर्ण इजालसले महानिरीक्षक प्रकरणको अन्तिम फैसला नआएसम्म डिआइजी सिलवाललाई छानविन, निलम्बन केही नगर्न आदेश दिएको हो । आईजिपी प्रकरणमा सिलवालले आफूमाथि अन्याय भएको भन्दै दायर गरेको रिटमाथि सर्वोच्चले वैशाख १९ मा अन्तिम सुनुवाई गर्ने तय गरेको छ ।

फैसला मितिभन्दा अगाडि प्रहरी प्रधान कार्यालयले डिआईजी सिलवाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि प्रहरी महानिरीक्षक नियुक्ति विवाद थप चर्किएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख डिआईजी सिलवाललाई सोमबार प्रहरी प्रधान कार्यालयले सोमबार १० घन्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले मन्त्रिपरिषदको निर्णयअनुसार छानवीनका लागि नियन्त्रणमा लिएको प्रस्टिकरण दिएको छ ।

LIVE TV