१२ बैशाख २०७४, मंगलवार

हेटौँडा । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका क्रममा मकवानपुर जिल्लाको आठ गाउँपालिकामा क्रमशः निर्वाचन अधिकृतको कार्यालय आजबाट स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो आठ गाउँपालिकामा निर्वाचन अधिकृत र सहायक कर्मचारी कार्यालय सञ्चालनका लागि खटिसकिएको बताइएको छ ।

यसैबीच ती गाउँपालिकामा निर्वाचन प्रक्रिया सञ्चालनका लागि मतदाता नामावली, दलगत तथा स्वतन्त्र उम्मेदवारी दिनेहरुका लागि आवश्यक सामग्रीसहित सुरक्षाकर्मी परिचालन गरिसकिएको बताइएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, वाग्मती, बकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका गरी जम्मा २९५ मतदान केन्द्रका लागि आवश्यक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी खटाउन तथ्याङ्क सङ्कलन भइरहेको र एक हप्ताभित्र नियुक्ति दिने गृहकार्यसमेत भइरहेको मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले राससलाई बताएका छन ।

जिल्लाको २९५ मतदान केन्द्रका लागि सुरक्षा प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालयले एकीकृत रुपमा सुरक्षाको टोली परिचालन गर्ने तयारी गरिसकेको मकवानपुरका प्रजिअ, नारायणप्रसाद शर्मा दुवाडीले बताए ।

LIVE TV