१२ बैशाख २०७४, मंगलवार

रामपुर,पाल्पा । गुफै गुफाको गाउँ सहलकोटका स्थानीय युवा गुफा संरक्षणमा जुट्न थालेका छन् ।

निस्दी गाउँपालिका– २ सहलकोट सुकेकोटका युवा यहाँ रहेका गुफाको संरक्षण र प्रवद्र्धनमा जुटेका छन् । केही समय अगाडि राससमा यहाँका गुफाको बारेमा समाचार प्रकाशन भएको थियो । निकै मनमोहक सहलकोटमा रहेका गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेका छन् ।

गाउँको विकास र पहिचानका लागि गुफाले महत्वपूर्ण भूमिका खेल्ने महसुस गरी तिनीहरु संरक्षणका लागि समिति गठन गरेर अगाडि बढेका छन् । खुमबहादुर रानाको अध्यक्षतामा ११ सदस्यीय ‘घिचिन ओडार पर्यटन प्रवद्र्धन समिति’ गठन भएको छ । अध्यक्ष रानाले अझैसम्म पनि बाहिर प्रचार हुन नसकेको गुफालाई प्रचारप्रसार गरी गुफा तथा सिङ्गो गाउँलाई चिनाउन आफूहरु सङ्गठित भएर लागिपर्ने बताए।

समितिका उपाध्यक्ष उमेशकुमार गाहाले सहलकोट गाउँमा रहेका साना ठूला सबै गुफालाई संरक्षण गर्दै भविष्यमा गुफै गुफाको गाउँका रुपमा चिनाइने बताए । “भुरे राजाले राजकाज गरेको जुरे गुफासँगै यस क्षेत्रमा असङ्ख्य रुपमा ५० भन्दा बढी गुफा रहेका छन, विभिन्न सङ्घसंस्था र निकायसँग सहकार्य र समन्वय गरेर रकम जुटाई पर्यटन प्रवद्र्धनमा लाग्नेछौँ” उनले भने ।

जिल्ला सदरमुकाम तानसेनदेखि झन्डै ७२ किमी पूर्वमा रहेको सहलकोटमा जुरे गुफा, घिचिन ओडार (चमेरा गुफा), घन्टी ओडार, फ¥याच पहार गुफा, पुरानो लाम पहाड गुफा, नाम्सु ख्वाच पहाड गुफा, करङ्चो हुल्मा गुफा, ख्वाच पहाड गुफा र चितुवा मिमडाँडालगायत असङ्ख्य गुफा छन् । गुफाको वरपर विभिन्न देवीदेवताका थानसमेत छन् ।

यहाँ यति धेरै प्राकृतिक रुपमा गुफा रहे पनि स्थानीयवासी र स्थानीय निकाय यसबारे भने बेखबर छन् । संरक्षण र प्रचारप्रसार नहुँदा सीमित व्यक्तिलाई मात्र गुफाबारे जानकारी रहेको समितिका सल्लाहकार तिलवीर रानाले बताए ।

LIVE TV