२७ चैत्र २०७३, आईतवार
  • बिनय तिम्सीना,

इलाम । नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएका छन् । उनले संविधान कार्यान्वयनको चरणमा रहेकाले त्यसको लागि स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए ।

रत्न बम प्रतिष्ठानको आयोजनामा देउमाइ नगरपालिका–१ चित्रे (साविक चमैता–६) रत्नकुमार बान्तवाको ३८ औ स्मृति दिवस तथा ६५ औ जन्मजयन्तिको अवसरमा शहीद रत्नकुमार वान्तवा र बमकुमार बान्तवाको शालिक अनावरण र शहीद स्मृति सामुदायिक भवनको उद्घाटन गर्दै नेम्वाङले ३ तहको निर्वाचनपछि देशले कोल्टे फेर्ने बताए ।

कार्यक्रममा एमालेका महासचिव इश्वर पोखरेलले शहीद रत्नकुमार बान्तवा र बमप्रसाद बान्तवाको योगदानले एमालेमाथि उठेकाले उनीहरुको कदर हुनुपर्नेमा जोड दिए । बान्तवाको आन्दोलन समाप्त नभएकाले यसलाई अघि बढाउने अभिभारा एमालेको भएको पनि बताए ।

कार्यक्रममा रत्नबम प्रतिष्ठानले शहीद परिवारका राममाया राई, सहयोद्धा महेश बान्तवा, रत्न बान्तवाकी दिदी देउकला राई, अगमप्रसाद बान्तवा, बमप्रसादका भाई देउप्रसाद बान्तवा, निर्मा शेर्पा र शालिक निर्माण गर्ने बिष्णु प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

२००८ साल चैत २७ गते जन्मिएका रत्नकुमार बान्तवालाई २०३५ साल चैत २७ गतेकै दिन तत्कालीन पञ्चायती शासकले इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो भने बमप्रसाद बान्तवालाई २०३६ साल बैशाख २८ गते साखेजुङ गैरीबासमा हत्या गरिएको थियो ।

 

LIVE TV