२० चैत्र २०७३, आईतवार

पोखरा। नेपाल पत्रकार महासङ्घ कास्की शाखाबाट सञ्चालित एवम् सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता पुरस्कार २०७३ पत्रकार युवराज घिमिरेलाई प्रदान गरिएको छ ।

पत्रकारिताको माध्यमबाट मुलुकको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने एक जना पत्रकारलाई प्रत्येक वर्ष प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख ११ हजार १११, ताम्रपत्र र दोसल्ला रहेको छ ।

ट्रष्टका संरक्षक एवम् समाजसेवी सूर्यबहादुर केसीले शनिबार यहाँ आयोजित एक समारोहमा पुरस्कृत घिमिरेलाई नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्दै पुरस्कारको निरन्तरताको लागि रु ११ लाख ११ हजार १११ को अक्षयकोषको स्थापना गरिएको जानकारी दिए ।

उनका अनुसार ट्रष्टबाट समाजमा शिक्षा, स्वास्थ्य, वातावरण, बालबालिकाको क्षेत्रको विकासलगायत सामाजिक उत्तरदायित्व पूरा गर्ने सोच रहेको बताए।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न सङ्घसंस्था र व्यक्तिबाट स्थापना गरिएका पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुगेको बताए।

पुरस्कृत व्यक्तित्व पत्रकार घिमिरेले स्वतन्त्र र जवाफदेही पत्रकारिताको खाँचो औँल्याउँदै पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताए ।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक बद्रीविनोद प्रतीक, पत्रकार महासङ्घका सल्लाहकारद्वय रामकृष्ण ज्ञवाली र रमेश पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे, ट्रष्टका अध्यक्ष सन्तबहादुर गुरुङ, युवा उद्यमी किरण केसी, पत्रकार केशवशरण लामिछाने महासङ्घका सचिव रामप्रसाद तिमिल्सिनालगायतले पत्रकारिताको महत्व माथि प्रकाश पारेका थिए ।

LIVE TV