२० चैत्र २०७३, आईतवार

काठमाडौं ।धादिङको ढोला गाउँमा स्थानीय समुदायको श्रम र कानिङ सेद्रुव लिङ सेतो गुम्बा बौद्धद्वारा सञ्चालित रनजुङ येसे सेनपेङ भूकम्पोत्तर पुनर्निर्माणअन्तर्गत निर्मित ५५ वटा पक्की घर भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।

गत बिहीबार सेतो गुम्बा प्रमुख चोकिनिमा रिम्पोचेले ती घर अति प्रभावित धादिङ जिल्लाको लापा र ढोलाबाट विस्थापित ५५ परिवारलाई हस्तान्तरण गरेका हुन् । ६ फिट गहिरो जगमा निर्मित साढे २ तलाका पक्की घर निर्माण गर्न १५ महिना लागेको थियो ।

सेनपेङबाट प्राप्त जानकारीअनुसार निर्माणमा भूकम्पपीडित र स्थानीयले पूर्ण श्रमदान गरेका थिए भने प्राविधिक पक्ष र स्तरीयता सुनिश्चित गर्न विदेशी आर्किटेक्ट तथा इन्जिनियर जुटेका थिए ।

ती घर निर्माणका क्रममा सामग्री खरिद र ढुवानीको ४ करोड ५० लाखदेखि ५ करोडसम्म खर्च भएको गुम्बा स्रोतले बतायो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृति प्राप्त परियोजनाका लागि सेतो गुम्बाआबद्ध तथा चोकिनिमा रिम्पोचेका नेपाललगायत देशका शिष्य र सहयोगीले आर्थिक र प्राविधिक योगदान गरेका थिए । ती घर हस्तान्तरण गरिएका ५५ परिवारमा ३ सय १० जना सदस्य छन् ।अन्नपूर्णपोष्ट बाट

LIVE TV