१९ चैत्र २०७३, शनिबार

 

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यावहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न मातहतका कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

प्राधिकरणको दोस्रो चौमासिक समीक्षा बैठकलाई आज सम्बोधन गर्दै सिइओ पोखरेलले सरकारी संयन्त्रमा प्रक्रियागत झन्झटलाई देखाएर जनताको समस्या र अप्ठेरोलाई कम महत्व दिने प्रवृत्ति हाबी रहेको उल्लेख गर्नुभयो ।

बैठकमा प्राधिकरणको दोस्रो चौमासिक प्रगतिका विषयमा विभिन्न मन्त्रालयका योजना महाशाखा प्रमुख तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका महाशाखा प्रमुख र जिल्ला समन्वय समितिको सचिवालयका प्रमुखहरुले भूकम्प प्रभावित जिल्लाका पुनःनिर्माणमा भइरहेका प्रयास, उपलब्धि, चुनौती र त्यसको समाधानबारे जानकारी गराउनुभएको थियो ।

उक्त अवसरमा भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य, सिँचाइ, वन, रक्षा, शिक्षा, स्थानीय विकासलगायत मन्त्रालयका प्रतिनिधिले आ–आफ्नो मन्त्रालयकातर्फबाट पुनःनिर्माणमा भइरहेका प्रगतिबारे बैठकमा जानकारी गराउनुभएको थियो ।

बैठकमा प्राधिकरणअन्तर्गतको जिल्ला समन्वय समितिको सचिवालयका तर्फबाट भूकम्प अतिप्रभावित १४ जिल्लाका प्रतिनिधिले जिल्लामा भइरहेका पुनःनिर्माणका क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न प्राधिकरण नेतृत्वको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य अरविन्दकुमार मिश्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कार्यकारी समिति सदस्यहरु, विभिन्न मन्त्रालयका प्रतिनिधि, पुरातत्व विभाग, केन्द्रीय तथ्याङ्क विभागलगायत निकायका प्रतिनिधि सहभागी हुुनुहुन्थ्यो । रासस

LIVE TV