१७ चैत्र २०७३, बिहीबार

काठमाडौँ। काठमाडौँको दक्षिणभेगस्थित चोभारमा आदिनाथको दर्शन तथा जल निकाल्नका लागि आज दर्शनार्थीको ठूलो भीड लागेको छ ।

बुधबार महास्नान गराइएका आदिनाथको मूर्तिमा पूजा गरी महास्नान पछिको जल घर घरमा लैजानका लागि काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका भक्तजनको घुइँचो लागेको हो ।

महास्नानबाट निस्केको जललाई पवित्र वस्तुका रुपमा भक्तजनले ग्रहण गरी त्यसलाई घरका सदस्यलाई सेचन गरेमा पुण्य मिल्ने जनविश्वास छ । प्रत्येक वर्ष मूर्तिको महास्नान गरेपछि त्यहाँ सो जल निकाल्ने र भगवानको पूजा गरेमा धर्म सञ्चय हुने पूजारी सरोज शाक्यले जानकारी दिए ।

सो मूर्तिलाई अहिले घाम ताप्न मन्दिरबाहिर राखिएको छ । दिउँसोदेखि रङरोगन र सिङ्गार गरी यही चैत २२ गते नख्खु दोभानमा खटजात्रा गरिनेछ ।

प्रत्येक वर्ष चैते दसैँका दिन गरिने सो खटजात्रामा स्थानीयवासीका साथै त्यसवरपर क्षेत्रका सात गाउँदेखि मानिस सहभागी हुने गर्दछन् । विभिन्न धर्मावलम्बीका स्वदेशी तथा विदेशी पर्यटकसमेत पुग्ने त्यस क्षेत्रको सो आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रुपमा आस्था प्रकट गर्ने गर्दछन् ।

आधा नर तथा आधा नारीको रुपको सो मूर्तिलाई आदिनाथ भनिएको हो । मूर्तिको त्यो रुपलाई शिव तथा पार्वतीको संयुक्त आकृति प्रतिबिम्बित भएको मानिएको छ ।

LIVE TV