१७ चैत्र २०७३, बिहीबार

बाबियाचौर ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डम्मरामा फेदीबाट तानेर डाँडाको बस्तीमा खानेपानी सुविधा पु¥याइएको छ ।

विद्युतीय उपकरणको सहायताले पानी तान्ने योजना निर्माण भएपछि डम्मरावासीको दैनिकी सहज भएको छ ।

टाढासम्म पुगेर गाग्री, ग्यालिन, बाल्टी र बोतलमा पानी ओसार्न बाध्य डम्मरावासीको दैनिकी फेरिएको स्थानीय बासिन्दा कविता बानियाँले बताईन । “घरकै धारामा पर्याप्त मात्रामा नियमित पानी आपूर्ति हुन थालेपछि सुविधा, समयको बचत, घरायसी सरसफाइ र करेसाबारीको सिँचाइमा सहयोग पुगेको छ”, बानियाँले भनिन ।

डम्मराका बासिन्दाले खानेपानी आपूर्ति गर्दै आएको जरबुटाको मुहानमा २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पपछि पानीको स्रोत घटेपछि उनीहरु नदी किनारबाट पानी ओसार्न बाध्य भएका थिए । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयमार्फत बस्तीदेखि तलको म्याग्दी नदी किनारमा रहेको नीलढुङ्गाको मुहानबाट ९० मिटर माथि पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष विदुर कार्कीले बताए।

रु ४५ लाख ७५ हजारमा निर्माण भएको आयोजनाबाट ५० घरधुरी लाभान्वित भएका छन् । सबै घरमा मिटरसहितको निजी धारा जडान गरिएको छ । खानेपानीका साथै सिँचाइमा समेत यो आयोजनाको पानीलाई उपयोग गरिएको अध्यक्ष कार्कीले बताए ।

जमिनको सतहदेखि २० मिटरभित्र खनिएको इनारबाट प्रतिसेकेन्ड एक लिटर पानी आपूर्ति भएको छ । दुईसय मिटर पाइपलाइनबाट आपूर्ति गरिएको पानी २०/२० घनमिटर क्षमताको दुईवटा रिजर्भ ट्याङ्कीमा सङ्कलन र शुद्धीकरण गरी वितरण गरिएको छ ।

पानी तान्नका लागि विद्युत्को सहायताले दुई हर्सपावर क्षमताको समसिवल पम्प जडान गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयले जनाएको छ ।

आयोजनाको पाइपलाइन, ट्याङ्की, इनार, विद्युतीय सामग्री, गृह निर्माणका लागि एक महिनाका दरले श्रमदान गरेका उपभोक्ताले प्रतिघर रु तीनहजार पाँचसयका दरले नगद सङ्कलन गरेका थिए ।

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालयमार्फत रु १६ लाख ९० हजार भुक्तानी भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण कोषमार्फत उपलब्ध हुनुपर्ने रु १८ लाख निकासा हुन ढिलाइ हुँदा समस्या परेको उपभोक्ता समितिका पदाधिकारीले गुनासो गरेका छन् ।

LIVE TV